
बागलुङ, १७ चैत ।
काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीले कोरोना भाइरस (कोभिड–१९) राहत कोष स्थापना गरेको छ ।
वडा कार्यालयमा सोमबार बसेको सरोकारवालाहरुको बैठकले २ लाख ५० हजार रुपैयाँको राहत कोष स्थापना गरेको वडाअध्यक्ष चित्रकला श्रीसले बताउनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको वडाअध्यक्ष श्रीसले खबरवे अनलाईनलाई बताउनुभयो । उहाँले उक्त कोषमा रकम जम्मा गर्न वडाबासी र संघसंस्थालाई समेत आव्हान गर्नुभएको छ ।

यस्तै वडा कार्यालयले गाउँपालिकाले निर्देशन गरेको ६ वेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । गाउँपालिकाले विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न र लकडाउनलाई पूर्ण रुपमा पालना गराउन ३ ओटा टोल कमिटी गठन गरेको वडाअध्यक्ष श्रीसले जानकारी दिनुभयो ।










