धौलागिरी अञ्चल अस्पताललाई ५० थान पिपिइ प्राप्त

तस्विरः भुपाल चालिसेको फेसबुक वालबाट ।

बागलुङ, १७ चैत ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित तथा संकास्पद विरामीको उपचारमा प्रयोग हुने सुरक्षित स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार अञ्चल अस्पताल बागलुङलाई ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ), ५ हजार थान माक्स र ८ थान सेनिटाइजर सहयोग गरेको हो ।
सोमबार विहान मन्त्रालयबाट आउनुभएका डा. झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले स्वास्थ्य सामाग्रीहरु अस्पतालका अध्यक्ष केवि राना मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।
शनिबार बागलुङकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले उपचार सामाग्रीहरु पठाएको हो । डाक्टर गौतम र जनस्वास्थ्य अधिकृत जिल्लाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सामाग्री हस्तान्तरणको लागि मात्र आएको धौलागिरी अंचल अस्पताल बागलुङका निमित्त प्रमुख डा. शैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो । दुवै जना काठमाण्डौ फर्कनुभएको छ ।
संक्रमित युवतीको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट वि.क. पोखरेलले जानकारी दिनुभयो । युवतीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उहाँले बताउनुभयो ।
‘विरामीलाई ज्वरो छैन, खोकी कम हुँदै गएको छ’ डाक्टर पोख्रेलले भन्नुभयो– ‘स्वास्थ्यमा आएको सुधारले उत्साहीत बनाएको छ ।’ युवतीलाई मानसिक रुपमा मजबुद बनाउन नियमित मनोपरामर्शको काम भैरहेको उहाँले बताउनुभयो ।
विरामीले आफै इच्छा अनुसारको खाना माग गरेर खाने गरेको डा. पोख्रेलको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here