
बागलुङ चैत्र ११ ।
जिल्ला सुरक्षा समिति बागलुङले कोरोना भाइरस नियन्त्रणका लागि गर्ने घोषण गरिएको लकडाउन प्रभावकारी कार्यानवयन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको मंगलबार सम्पन्न बैठकले प्रतिबन्धित क्रियाकलापहरु हुन नदिन प्रहरीलाई सहयोग गर्ने गरी सेना परिचालन गर्न निर्णय गरेको हो ।
जिल्लामा लक डाउन प्रभावकारी रुपमा कार्यानवयन गर्न स्थानीय प्रशासन ऐन २०२० को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गरिएको र सोही ऐनको दफा ६ को उपदफा २ बमोजिम जिल्ला जिल्ला स्थित नेपाली सेना अर्जुनवाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुने अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभयो ।
संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही बमोजिम सजाय हुनेछ । स्थितिको अवलोकन, सेनाका स्वास्थ्यकर्मीको परिचालन, क्वारेनटाईम निर्माण तथा मानिसहरु घरबाहिर ननिस्केको यकिन गर्न प्रहरी सघाउन सेना परिचालन हुने छन् ।
सुरक्षा समितिको अनुरोध सेनाको हेडक्वाटरमा पुगे पछि आदेश बमोजिम सेना परिचालन हुने छन् । अहिले नेपाली सेनाले जिल्ला सुरक्षा समितिको सदस्यको हैसियतले काम गरिरहेको छ ।
सोमबार जिल्लामा अत्यावश्यकीय बाहेकका सम्पूर्ण काम र सेवा पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरिएको थियो । लकडाउन अवधिमा काम बिशेषले पनि बढिमा पाँच जना भन्दा बढी भेला हुन समेत पाइने छैन ।
प्रजिअ शैजुका अनुसार, दैनिक उपभोग्य सामान, खाद्यान्न, दुध, औषधि, पानी, पेटोलियम पदार्थ, उद्धार, राहत तथा स्वास्थ्य उपचार कार्यमा सम्लग्न यातायात बाहेक सबै प्रकारका यातायात –बस, जीप, पिकअप, ट्याक्सी, मोटरसाइकल, रिक्सा, पसल,उद्योग कलकारखाना पूर्ण रुपमा बन्द गरिएको छ ।
सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । कसैले पनि निर्णय विपरितका कार्य गरे घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम कारवाही गरिनेछ ।










