
बागलुङ, ७ चैत ।
कोरोना भाईरसको सम्भावित जोखिमको पूर्वसतर्कता अपनाउँदै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थिगीत गरे पछि बागलुङको ३१ वटा परीक्षा केन्द्रमा पुगेको प्रश्न पत्र सुरक्षित गरिएको छ ।
बागलुङको दश वटै पालिकाको परीक्षा केन्द्रमा पुगेका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पूर्ण सुरक्षाका साथ संकलन गरी राखेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।
इकाई प्रमुख उपाध्यायका अनुसार बूर्तिवाङ, निसी र तमान क्षेत्रको प्रश्न पत्र इलाका प्रहरी चौकी बूर्तिवाङ, बडिगाडसहित गल्कोट क्षेत्रको इलाका प्रहरी चौकी हरिचौर, बरेङको जनता मावि, सर्वाेदय मावि र सारदा माविको बरेङ्ग प्रहरी चौकी र अमर मावि बिहुँदेखि बेलबगर हुँदै बानपा अन्तर्गतका प्रश्न पत्र जिल्ला प्रहरी कार्यालय बागलुङमा संकलन गरिएको छ ।
बिहिबारदेखि हुने एसईई परीक्षा सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले एसईई परीक्षा स्थगित गरेको थियो ।
केन्द्रमा प्रश्नपत्र तथा कपिहरुसमे पुगिसकेको अवस्थामा विद्यार्थी र अभिभावकले कतै प्रश्न पत्र आउट त हुने होइन भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । परीक्षा केन्द्रमा पुगेका उत्तर पुस्तिकाको उचित सुरक्षाको जिम्मेवारी केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई निर्देशन गरेको इकाई प्रमुख उपाध्यायको भनाई छ ।
प्रश्नपत्र प्रहरी केन्द्रमा मापदण्ड अनुसारकै बाकस निर्माण गरी सम्बन्धीत प्रहरी चौकीको प्रमुख र केन्द्राध्यक्षको एक÷एक वटा चावी लगाईएको छ ।
यस वर्ष बागलुङबाट चार हजार ३९५ विद्यार्थी सामुदायिक तथा ७८३ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुँदै छन् । परिक्षमा आवश्यक ४६५ जना सुरक्षकर्मी परिचालन गरिएको थियो ।
३१ वटा केन्द्रमा ३१ केन्द्राध्यक्ष, ३४ सहायक केन्द्राध्यक्ष, २५९ जना निरिक्षक, ३१ जना सहायक कर्मचारी, १०४ जना कार्यालय सहयोगी परिचालन गरिएको थियो । परीक्षा स्थिगित भए पनि परिचालन गरिएको सुरक्षाकर्मी तथा कर्मचारी फिर्ता भएका छन् ।










