
एजेन्सी, १ चैत ।
कोरोना भाइरस (कोविड–१९)बाट भारतमा फेरि एक जनाको मृत्यु भएको छ । कारोना संक्रमणका कारण दिल्लीकी ६९ वर्षीया महिलाको मृत्यृ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु भएकी महिलामा डाइबिटीज र हाइ ब्लडप्रेसरको समस्या पनि थियो । उनलाई राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो ।
ती महिलाको छोरा ५ देखि २२ फेब्रुअरीको बीच इटाली र स्वीट्जरल्याण्डको यात्रामा थिए ।
उनी २३ फेब्रुअरीमा भारत फर्किएका थिए ।
उनले आफूलाई कफ र रुघा लागेको बताएका थिए । परीक्षण गर्दा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।
यसअघि कोरोनाको संक्रमणले कर्नाटकमा ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।
दिल्ली सरकारले कोरोनालाई ‘महामारी’ घोषित गरेको छ ।
प्रकोप रोक्नका लागि स्कुल–कलेज र सिनेमा हल ३१ मार्चसम्म बन्द गरिएको छ ।










