बागलुङ, ८ फागुन ।
बागलुङमा विप्लव समुहका एक कार्यकर्ताले रिहा भएलगत्ते पार्टी परित्याग गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ७ का लाल बहादुर नेपाली (काजी)ले बिहीबार रिहा भएसँगै पार्टी परित्याग गरेका हुन् ।
विप्लब समुहमा संलग्न भई विभिन्न गैरकानुनी क्रियाकलापमा लागेको भन्दै प्रहरीले नेपालीलाई गत माघ १४ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका नेपालीलाई बिहीबार जिल्ला प्रशासन कार्यालय बागलुङले ६ हजार धरौटीमा रिहा गरेको हो ।

रिहा भएपश्चात नेपालीले प्रेस विज्ञप्ती मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विगतका समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समर्थक रही काम गरिरहेको भएपनि २०७५ फागुन महिनादेखि विप्लव नेतृत्वको पार्टीलाई नेपाल सरकारद्वारा प्रतिबन्ध लगाएपछि पार्टीको विचारमा असहमति राखेर कुनै बैठक, भेला र सम्मेलनमा सहभागि नभइ आफ्नै घरमा कृषि तथा कुखुरापालन गरि बसिरहेको विज्ञप्तीमा उल्लेख छ । उनले अवदेखि प्रचलित नेपालको संविधान, कानून विपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपालीले पार्टी परित्याग गर्ने घोषणा गरेपछि धरौटीमा रिहा गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए ।










