काठेखोला गाउँपालिकाको विहुँ र भीमापोखरा जोड्ने मोटरेवल पुलको सिलन्यास

बागलुङ, ६ फागुन ।
काठेखोला गाउँपालिकाको वडा नम्बर ६ विहुँ र वडा नम्बर २ भीमापोखरा जोड्ने गरि डुडियाखोला माथि मंगलबार लामाबगर मोटरेबल पुलको सिलन्यास भएको छ । गण्डकी प्रदेशको सहयोग र काठेखोला गाउँपालिकाको आयोजनामा पुलको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिलान्यास गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्न लागेको पुलको निर्माणको लागि एमएस निलगिरी नेशनल जेभी कम्पनी ललितपुरसँग गत साउन २६ गते ठेक्का सम्झौता गरिएको थियो ।

पुल निर्माणको लागि भ्याट सहित ३ करोड ३१ लख ६३ हजार ७ सय ७९ रुपैयाँ ४६ पैसा लगानीमा २०७७ माघ २५ गते सम्पन्न गर्ने गरि सम्झौता गरिएको निलगिरी नेशनल जेभीका प्रतिनिधी सुविर सिंह खत्रीले जानकारी दिए । उनले बर्खायामममा ४, ५ महिना काममा अवरोध आएपनि समयमै पुलको निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

टि–गर्डर खुल्ला संरचनामा बन्ने उक्त पुलको लम्बाई ३० मिटर रहेको जेभीका इन्जिनियर गोविन्द प्रसाद चौधरीले जानकारी दिए । उनले कम्पनीले ब्रिज फाउन्डेशन, उप–संरचना, सुपर संरचना, दृष्टिकोण र नदी प्रशिक्षणका कार्यहरू गर्ने बताए ।

पुल निर्माणपछि बागलुङ बजार हुँदै काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा, ३ धम्जा, ४ तंग्रामका समुदायको लागि र म्याग्दी जिल्ला जानको लागि सहजता पुग्ने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले बताए । अध्यक्ष थापाले पुल निर्माण भएसंगै गाउँपालिकाको भीमापोखरा, धम्जा र तंग्रामका स्थानीयहरुलाई १२ महिना यातयातका साधन आवत जावतमा सहज पुग्ने बताए ।

पुलको सिलन्यास पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारले आफुलाई हस्तान्तरण गरेका र निर्माण सम्पन्न नभएका सडकहरु आफुहरुले ठेकदारहरुलाई खोजेर ल्याएर काम गराइरहेको बताए । उनले समयमै काम सम्पन्न नगरि भाग्ने ठेकदारहरुलाई आफुहरुले कुनै हालतमा नछोड्ने र ल्याएर काम सम्पन्न गर्न लगाउने बताए ।

गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न भएको सिलन्यास कार्यक्रमको स्वागत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम वि.क. र संचालन कार्यपालिका सदस्य टिका संगम विकले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here