दोस्रो चिल्ड्रेन लाईफ कपः समुह चरणका खेल सकिए

अर्जुन कार्की
बागलुङ, २९ माघ ।
दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय (+२) स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन समुह चरणका खेल सम्पन्न भएका छन् ।
दोस्रो दिन (बुधबार) न्यू ओयसिस एकेडेमी, अमर र आदर्श मावि, भिमसेन मावि, गरिमा आवासिय मावि (डिग्नीटी) र चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल (रातो)ले जित हातपादै अन्तिम आठमा पुगेका हुन् ।
बुधबारको पहिलो खेलमा न्यू ओयसिस एकेडेमीले पृथ्वी हिरण्य माविलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । न्यू ओयसिसले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ३८ औं मिनेटमा अनुरोध थापा र ४८ औं मिनेटमा अमर खत्रीले गोल गरेका थिए ।
यस्तै दोस्रो खेलमा अविशेक बोहोराको २ गोलको मद्धतमा अमर आदर्श माविले विद्यामन्दिर माविलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमर आदर्शको लागि खेलको बोहोराले १९ औं मिनेटमा फ्रिकिक मार्फत र २५ औं मिनेट आफ्नो र टिमको लागि दोस्रो गोल गरेका थिए । विद्यामन्दिरको लागि आर्य खत्रीले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।
यस्तै आजको तेस्रो खेलमा भीमसेन मावि विहुँले सिदार्थ शिक्षा सदनलाई ३–२ गोल अन्तरले पराजित गर्यो । भीमसेन माविको लागि सन्दिप श्रीसले २ र निरज थकालीले १ गोल गरेभने सिदार्थको लागि दुवै गोल ओम तारामी मगरले गरेका थिए ।
भिमसेन माविले खेलको चौथो मिनेटमा निरज थकालिको गोलबाट अग्रता लिएको थियो । सन्दिप श्रीसले खेलको १३ औं मिनेटमा गोल गर्दै भीमसेन माविलाई २–० को अग्रता दिलाएका थिए । खेलको २२ औं मिनेटमा भीमसेन माविका खेलाडीले सिदार्थका खेलाडीलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई सिदार्थका ओमले गोल गर्दै अग्रतालाई कम गरेपनि २४ औं मिनेटमा भीमसेनका सन्दिपले गोल गर्दै पहिलो हाफमा ३–१ को अग्रंता लिएका थिए ।
खेलको ३२ औं मिनेटमा सिदार्थका ओमले सान्तोना गोल गरेका थिए । बाँकी समयमा दुवै टिमबाट कुनै गोलनभएपछि भीमसेन मावि ३–२ गोलअन्तरले विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्यो ।
यस्तै चौथो खेलमा गरिमा आवासिय मावि (डिग्नीटी)ले रुद्रेपिपल माविलाई ३–२ गोलअन्तरले पराजित गर्यो । गरिमाको लागि खेलको २७ औं मिनेटमा विजय केसीले गोल गर्दै खाता खोलेका थिएभने ३८ औंं र ४२ औं मिनेटमा अनिश रुचालले गोल गरेका थिए । यस्तै रुद्रेपिपलको लागि खेलको ४१ औं मिनेटमा आकाश बोहोरा र ४६ औं मिनेटमा शंकर नेपालले गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
यस्तै समुह चरणको अन्तिम खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल (रातो)ले त्रिभुवन माविलाई १–० गोलअन्तरले पराजित गरेको छ । चिल्ड्रेन लाईफको लागि १ मात्र गोल खेलको ३८ औं मिनेटमा पवन पुनले फ्रिकिक मार्फत गरेका थिए ।
चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता अन्तरगत बिहीबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । बिहीबारको पहिलो खेल चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल (रातो) विरुद्ध गणेश मावि बलेवा, दोस्रो खेल न्यू ओयसिस एकेडेमी विरुद्ध न्यू एभरेष्ट एकेडेमी, तेस्रो खेल अमर आर्दश मावि विरुद्ध भिमसेन मावि विहुँ र चौथो खेल गरिमा आवासिय मावि (डिग्नीटी) विरुद्ध चिल्ड्रेन लाईफ (रातो)का विच हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here