
बागलुङ, २४ माघ ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा स्थित पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले यस वर्ष पनि महाशिवरात्री मेला आयोजना गरेको छ ।
पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका अध्यक्ष विक्रम शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन ६देखि ९ गतेसम्म विविध प्रतियोगितात्मक कार्यक्रमसहित मेला आयोजना गर्ने निर्णय गरेको हो ।
मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला सामुहिक नृत्यु प्रतियोगीता आयोजना गरेको अध्यक्ष विक्रम शर्माले जानकारी दिनुभयो । भलिबल प्रतियोगीतामा प्रथम पुरस्कार ५६ हजार र द्धितीय पुरस्कार ३० हजार रुपैयाँ तोकिएको छ ।
खुल्ला सामुहिक नृत्य प्रतियोगीताका प्रथम हुनेलाई १० हजार, द्धितीयलाई ६ हजार र तृतीयलाई ४ हजार पुरस्कारको व्यवस्था गरेको उपाध्यक्ष राजु गौतमले जानकारी दिनुभयो । केन्द्रले हरेक वर्ष शिवरात्रीको अवसरमा मेला आयोजना गर्दै आएको छ ।
काठेखोला क्षेत्रको सर्वाधिक चर्चित शिवरात्री मेला तत्कालीन शिवालय ग्रिन क्लव हुँदै पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले संचालन गर्दै आएको केन्द्रका पूर्वाध्यक्ष प्रेम केसीले बताउनुभयो । शिवरात्री मेला स्थानीय खेल, कला र संस्कृतिको संरक्षण र विकास गर्दै आएको केसीले भन्नुभयो–‘ परम्परागत संस्कारको जगेर्न गर्न क्लव निरन्तर लागेको छ ।’
मेलाको मुल समारोहलाई गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मेलामा राष्ट्रिय तथा काठेखोला लोक ताराका विजेताहरुको प्रस्तुती रहने छ ।










