
अर्जुन कार्की
बागलुङ, २१ माघ ।
दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले जितेको छ ।
भएको फाइनल खेलमा बागलुङले उपदयपुरको चौदण्डीगढी नगरपालिकालाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
बागलुङका लागि उत्तम गुरुङले २ ,कप्तान प्रमेश थापा, ध्रुब घिमिरे र गोविन थापा समान १ गोल गरे । चौदण्डीगढीका लागि दुवै गोल कप्तान शरद राईले गरे ।
सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको बागलुङले खेलको पहिलो मिनेटमै कप्तान प्रमेश थापाको गोलबाट अग्रता लिएको थियो । चौदण्डीगढीका डिफेन्डरले डिबक्समा बल किलिएर गर्न नसक्दा कप्तान थापाले गोल गरेका हुन् ।
पहिलो हाफको १८ औ मिनेटमा बागलुङका उत्तम गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलबारमा लाग्दै फिर्किएको थियो । उक्त बललाई सिद्धान्त मगरले गोलको दिशा दिन सकेनन् ।
बागलुङको लागि दोस्रो गोल २१ औं मिनेटमा ध्रुव घिमिरेले गरेका थिए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बलले गोलको दिशा लिएको थियो । यस्तै खेलको २५ औं मिनेटमा चौदण्डीगढीको लागि कप्तान सरद राईले पेनाल्टीमा गोलगर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । किपर विट भएको अवस्थामा बागलुङका जिवन गुरुङले गोललाइनमा ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा कप्तान राईले गोल गरेका हुन् ।
यस्तै बागलुङको लागि खेलको ३४ औं मिनेटमा उत्तम गुरुङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बागलुङलाई ३–१ गोलअन्तर बनाएका थिए । चौदण्डीगढीका डिफेन्डर सौजन राईले दिएको पासलाई गोलरक्षक शक्ति राईले हातले समातेपछि डिबक्स भित्रै फ्रिकिक प्राप्त भएको थियो ।
दोस्रो हाफमा पनि आफ्नो आक्रमक रणनीतिलाई जारी राखेको बागलुङले ४९ औं मिनेटमा गोविन थापाले गोल गर्दै अग्रतालाई बढाएका थिए ।
खेलको ७५ औं मिनेटमा बागलुङका डिफेन्डर निशान थापाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा चौदण्डीगढीका कप्तान सरद राईले गोल गर्दै खेल ४–२ मा पुगेको थियो । ७७ औं मिनेटमा बागलुङका उत्तम गुरुङले आफ्नो लागि दुई र टिमको लागि पाँचौं गोलगर्दै उपाधि जिताए ।
उपाधि जितेको बागलुङले नगद ३ लाख रुपैयाँ प्राप्त गरेकोछभने चौदण्डीगढीले उपविजेता भन्दै २ लाखमा चित्त बुझाएको छ ।

यस्तै सेमिफाइनल पुग्ने भीमाद नगरपालिका तनहुँ र बेनी नगरपालिका म्याग्दीले ६०–६० हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिता खेलमा ५ गोल गरेका बागलुङका ध्रुव घिमिरे को उत्कृष्ट खेलाडी बागलुङका उपकप्तान तथा डिफेन्डर निशान थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै प्रतियोगितामा ५ गोल गरेका बागलुङका ध्रुव घिमिरे उच्च गोलकर्ता र उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर बागलुङका सौगात खड्का, उत्कृष्ट डिफेन्डर जीवन गुरुङ र उत्कृष्ट मिडफिल्डर उत्तम गुरुङ घोषित हुँदै समान ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा भएको उक्त प्रतियोगितामा १० ओटा नगरपालिकाले नाम दर्ता गराएपनि अन्तिम समयमा दाङको तुलसीपुर उपमहानगरपालिका उपस्थित नभएपछि ९ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । नगरपालिकाले शहिद दिवसको अवसरमा नगरपालिकाहरु विच आत्मिय भावना बनाउन र खेलकुदको विकासको लागि प्रतियोगिता सुरु गरेको जनाएको थियो । पहिलो प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले उपाधि जितेको थियो ।









