
अर्जुन कार्की
बागलुङ, २० माघ ।
बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने भएका छन् ।
सोमबार भएको सेमिफाइनल खेलमा बागलुङले तनहुँको भीमाद नगरपालिकालाई १–० र उदयपुरको चौदण्डीगढी नगरपालिकाले म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन ।
पहिलो सेमिफाइनल खेलमा बागलुङले खेलको ८७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो । भीमादका प्रदिप थापाले बागलुङका ध्रुव घिमिरेलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा आशिष केसीले गोल गरेका थिए । उक्त पेनाल्टी गोल नै निर्णय गोल बन्यो ।

पहिलो हाफमा भीमादका खेलाडीलाई फल गरेर पहेलो कार्ड पाएका बागलुङका आशिषले गोल गरेपछि खुसी मनाउँदा जर्सि निकालेपछि पुनः पहेलो कार्ड सहित रातो कार्ड खाँदै बाहिरिँदा बागलुङ अन्तिम समयमा १० खेलाडीमा सिमित बनेको थियो । आशिषले फाइनल खेल गुमाएका छन् ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरले बेनी नगरपालिका म्याग्दीलाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
निर्धारित ७० मिनेटको खेलमा दुवै टिम १–१ गोलबारबरीमा सकिएपछि खेल सिधै टाइब्रेकरमा पुगेको थियो । खेलको ४९ औं मिनेटमा म्याग्दीका सन्तोष पुनले फ्रिकिक गोल गर्दै टिमलाई अग्रता दिल्याएका थिए । डिबक्सको थोरै बाहिर पाएको फ्रिकिकमा पुनले सेकेण्डबारमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । १ गोलले पछि परेपनि निरन्तर आक्रमक खेलेको चौदण्डीगढीको लागि ६० औं मिनेटमा सुदिप श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
ट्राइब्रेकरमा खेल ५–५ को बराबरी भएपछि सडनडेथमा म्याग्दीका दिवस छन्त्यालको प्रहार बाहिरिएपछि चौदण्डीगढीका पवन कार्कीले गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पु¥याए ।
टाइब्रेकरमा म्याग्दीका सन्तोष पुन, रिमान मगर, निशान गुरुङ, अजय रामजाली र धानेन्द्र क्षेत्रीले गोल गरेका थिए । यस्तै चौदण्डीगढीका सागर राई, प्रदिप गुरुङ, अनिश राई, सुदिप श्रेष्ठ र सौजन राईले गोल गरेका थिए । फाइनल खेल मंगलबार हुनेछ ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो मेयर कप फुटबलको सेमिफाइनल खेलका तस्विरहरु
Gepostet von KhabarWay.com am Montag, 3. Februar 2020










