
बागलुङ, १९ माघ ।
मालिका सेवा समाज बागलुङको तेस्रो बार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । मालिका सेवा समाजको साधारणसभाको उद्घाटन पछि बोल्दै बागलुङ क्षेत्र नम्बर १ का सांसद डा. सूर्य पाठकले मालिका सेवा समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको मानवीय सहयोगको कार्य निकै प्रसंसनीय भएको बताउनुभयो ।
उहाँले नेपालनमा के खाउ के लाउ भन्ने अवस्थाबाट उठेर शिक्षा र स्वास्थ्यको विकासमा लगानीहुन थालेको प्रति खुसी व्यक्त गर्दै सांसद पाठकले नेपालले विकासमा ठूलो फड्को मारेको बताउनुभयो । नेपाल अल्प विकसित देशबाट विकासशिल युगमा प्रवेश गरेको भन्दै अहिलेको सरकारले सुरुङमार्ग देखि नागरिकको जिवनस्तर उकास्ने सम्मका योजना अगाडि ल्याएको बताउनुभयो ।
कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री तथा मालिका सेवा समाजका संरक्षक रामजी प्रसाद शर्मा, गण्डकी प्रदेश सांसद तथा नेकपा बगालुङका जिल्ला अध्यक्ष तथा मालिका सेवा समाजका सह–संरक्षक इन्द्रलाल सापकोटा, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापती जब्बर बहादुर लामिछाने, बागलुङ नगरपालिका–५ मालिकाका वडा अध्यक्ष शिव सापकोटा, बागलुङ नगरकार्यपालिका सदस्य कालिका सापकोटा, समाजसेवी कृष्णराज सापकोटा, नेपाली कांग्रेसका नेता होम बहादुर हमाल, नेत्रज्योती संघ बागलुङका सभापती भरत पुरी, हरेकृष्णका अच्युत दास, संस्थाका सल्लाहकार रेशम सापकोटा लगायले बाल्नुभएको थियो ।
कार्यक्रममा मालिका सेवा समाजका सचिव तेजबहादुर कुँवर सन्तोषको प्रगती प्रतिवेदन, कोषाध्यक्ष दुर्गा बहादुर केसीका आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मालिका सेवा समाजले गरेका कामका विषय समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा सञ्चारमाध्यमबाट मालिका सेवा समाजलाई प्रर्बद्धनमा उल्लेख्य भुमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति तथा धौलागिरी जागरण दैनिकमा कार्यरत पत्रकार खेमराज गौतम सुवासलाई नगद तथा प्रशंसपत्र सहित सम्मान गरिएको थियो । यस्तै बागलुङबाट १३ औं दक्षिण यसियाली खेलकूद प्रतियोगिता सागमा बागलुङबाट पदक विजयी नविन रसाईली, सोफिया पुन, राजकुमार रसाईलाई समेत सम्मान गरिएको थियो । यसैगरी मानव सेवा आश्रमलाई नगद रु.११ हजार सहयोग प्रदान गरिएको छ । मानवीय सेवा गर्ने भावनाका साथ २०७३ सालमा गठन भएको मालिका सेवा समाजले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपाल तथा विदेशमा रहनुभएका नेपालीहरुवाट सहयोग संकलन गरी सहयोग गर्दै आएको छ ।
हाल अहिले मालिका सेवा समाजमा विभिन्न व्यक्तिहरुवाट संकली त गरेको रकमबाट रु.३२ लाखको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि डा. सूर्य पाठकले मालिका सेवा समाजका विशिष्ठ तथा आजविन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमा मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षता, उपाध्यक्ष विष्णु कुँवरको स्वागत तथा सचिव तेज बहादुर कुंवर सन्तोषको सञ्चालनमा सम्पन्न भएको थियो ।
मालिकामा जन्मेर स्वदेश तथा विदेमा रहनुभएका नेपालीहरुले गरेको सहयोगले अनाथ विद्यार्थीलाई आवसीय सेवा सहितको शिक्षा, चेपाङ विद्यार्थीको अविभावकत्व ग्रहण तथा विभिन्न दैवीक प्रकोपमामा राहत प्रदान गर्दै आएको छ ।










