
बल बहादुर रोका
बागलुङ, १८ माघ ।
काठेखोला–३ धम्जामा जारी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिको लागि काठेखोला–७ रेश र काठेखोला–८ लेखानी प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार भएको सेमिफाइनल खेलमा रेशले धम्जालाई र लेखानीले भीमापोखरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
श्निबार भएको पहिलो सेमिफाइनल खेलमा लेखानीले काठेखोला–२ भीमापोखरालाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

लेखानीले पहिलो र दोस्रो सेट समान २७–२५ ले जितेको थियो भने तेस्रो सेटमा भीमापोरखले २५–२३ को जित निकाल्यो । चौथो सेटमा लेखानीले २५–१५ ले जित्दै उपाधि नजिक पुगेको हो ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा काठेखोला–७ रेशले काठेखोला–३ धम्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।
रेशले धम्जालाई पहिला, दोस्रो र तेस्रो सेट क्रमशः २५–१६, २५–१९ र २५–२० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
उपाधिको लागि रेश र लेखानीको खेल केहि बेरमा हुने छ ।
काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिको सहआयोजनामा संचालित प्रतियोगिताको विजेताले एक लाख ३२ हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।










