मेयर कप फुटबलः बागलुङको विजयी सुरुवात

अर्जुन कार्की
बागलुङ, १६ माघ ।
बागलुङमा आजदेखि सुरु भएको दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाले विजयी सुरुवात गरेकोछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बागलुङले कुश्मा नगरपालिका पर्वतलाई टाइबेकरमा ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।


निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको विजेता टाइबेकरबाट गरिएको थियो ।
टाइबेकरमा बागलुङका अविशेष बोहोरा, निशान थापा र किरण गुरुङले गोल गरेका थिएभने । पर्वतको तीन प्रहार बाहिरिएको थियो ।
पर्वतका आशिष गुरुङ र गणेश गुरुङले गोलपोष्ट बाहिर प्रहार गरेभने विजयी रानाको प्रहार बागलुङका गोलरक्षक सौगात खड्काले विफल पारिदिएका थिए ।


यसअघि खेलको पहिलो हाफमा कुश्माले बागलुङलाई दबाबमा राखे पनि गोलगर्न भने सकेन् । कुश्माका खेलाडीले बागलुङका गोलरक्षक सौगात अगाडी बढेको अवस्थामा प्रहार गरेको बल उनले पछाडी गएर मुश्कीलले बचाएका थिए ।
पहिलो हाफमा दबाबका विच खेलेको बागलुङले दोस्रो हाफमा उत्कृष्ट खेलप्रस्तुत गरेको थियो । दोस्रो हाफमा पाएका सुनौलो अवसरहरु गोलमा परिणत गर्न नसक्दा खेल टाइबेकरमा पुग्यो । खेलको अन्तिम समयमा बागलुङका आशिष केसीले प्रहार गरेको फ्रिकिक गोलबारमा लागेको थियो । रिवाउन बललाई रोशन लामिछानेले प्रहार गरेका थिए उक्त प्रहार कुश्माका गोलरक्षकले विफल पारिदिएका थिए ।


खेलको म्यानअफदी म्याच बागलुङका गोलरक्षक सौगात खड्का चुनिए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) बेनी नगरपालिका म्याग्दी र गल्कोट नगरपालिका बागलुङका विच खेल हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक सुर्य लामिछानेले जानकारी दिनुभयो ।


बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगितामा १० ओटा नगरपालिकाहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।


यस्तै प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सुर्य पाठकले सरकारले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलकुदले देशलाई देशविदेशमा परिचित गराउने बताउँदै जिल्ला स्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो ।


कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, संविधानसभा सदस्य प्रकाश पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, नेकपा नगर कमिटि बागलुङका अध्यक्ष धनबहादुर परियार, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्र थापा र राप्रपा गण्डकी प्रदेश सदस्य रणबहादुर बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको स्वागत उपप्रमुख सुरेन्द्र खड्का र संचालन पत्रकार राम अविरल र रविना बोहोराले गर्नुभएको थियो ।

कम तयारीले खेलमा पराजितः पर्वतका प्रशिक्षक गुरुङ
कुश्मा नगरपालिका पर्वतका प्रशिक्षक गंगाबहादुर गुरुङ ले कम तयारीका कारण खेलमा पराजित हुन पुगेका बताएका छन् ।
खेलपछि बोल्दै प्रशिक्षक गुरुङले नगरपालिका भित्रका खेलाडीहरुलाई जम्मा गरेर टिम तयार गर्दा प्रशिक्षणमा समय अभाव भएको बताए । उनले पहिलो हाफमा सोचे जस्तो खेलेपनि दोस्रो हाफमा खेलाडीहरुमा स्टामिनाको कमि देखिएको बताए ।

किपरको उत्कृष्ट खेलले विजयीः बागलुङ प्रशिक्षक भिमबहादुर बोहोरा
बागलुङ नगरपालिका प्रशिक्षक भिमबहादुर बोहोराले किपर सौगात खड्काको उत्कृष्ट खेलले विजयी भएको बताए ।
उनले बाहिरदेखि ल्याइएका खेलाडीहरु बेलुका मात्र आएको र बागलुङ र बाहिरका खेलाडीहरु एकैपटक मैदानमा उतार्द तालमेल नमिलेको बताउनुभयो । उहाँले पहिलो हाफमा तालमेल नमिले पनि दोस्रो हाफमा त्यसलाई सुधार गरिएको बताउनुभयो । उहाँले खेलाडीहरु खेल्दा खेल्दै चिनजान भएको बताउँदै अबको खेलमा गल्तीहरुलाई त्यसलाई सुधार गर्दै उपाधि जित्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here