
बागलुङ, १४ माघ ।
बागलुङको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले दोस्रो अन्तर विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
स्कुलले मंगलबार पत्रकार सम्मेलन गरि माघ २८ देखि फागुन ३ गतेसम्म माध्यमिक विद्यालय (+२) स्तरिय फुटबल प्रतियोगिता गर्ने जनाएको छ ।
विद्यार्थीहरुले पढाईको साथसाथै अतिरिक्त क्रियाकलाप अन्तरगत फुटबल खेलबाट आफ्नो प्रतिभा प्रस्फुटन गराउन सक्ने विश्वासका साथ प्रतियोगिताको आयोजना गरिएको स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नयाँ खेलाडीहरुको खोजी गरि उनीहरुको खेल कौशललाई निखार्न प्रतियोगिताले महत्वपूर्ण योगदान दिने अपेक्षा लिएको बताउनुभयो ।

श्रेष्ठले फुटबल खेलको विकास र विस्तार गर्दै विद्यार्थीहरुलाई त्यसप्रति आकर्षण गराउँदै उनीहरुलाई नियमित कसरतद्वारा शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त र अध्ययनमा क्रियाशिल एवं अनुशासित गर्रा राख्ने उद्देश्य लिइएको बताउनुभयो ।
उहाँले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको जनाउनुभयो । प्रिन्सिपल श्रेष्ठले विद्यालयलाई खेलकदुको माध्यमबाट परिचित र स्थापित गर्दै लैजानको लागि र खेलाडीहरुलाई प्रशिक्षणबाट पूर्ण व्यवसायिक बनाउँदै फुटबल खेलको विकास गर्न प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो । उहाँले खेलकुदबाट समाजमा सकरात्मक सन्देश प्रवाह गर्न र नेपाल सरकारले घोषणा गरेको पर्यटन भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न सहयोग पु¥याउने अपेक्षा लिइएको बताउनुभयो ।

प्रतियोगितामा एसईई पास गरेपछि २ बर्षसम्म +२ मा अध्ययन गरेका विद्यार्थीहरुले मात्र भाग लिन पाउने व्यवस्थापक भानु आचार्यले बताउनुभयो । उहाँले कक्षा १२ मा नियमित पढिरहेका विद्यार्थीहरुले सहभागी हुन पाउने प्रावधान राखिएको बताउनुभयो ।
नकआउट चरणमा हुने प्रतियोगितामा बागलुङका १६ विद्यालयहरुले सहभागिता जनाउन सक्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने स्कुलले जनाएको छ । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि ३ लाख रुपैयाँ खर्च लाग्ने प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
चिल्ड्रेन लाईफ स्पोटर्स क्लब सहआयोजक रहेको प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।
व्यवस्थापक भानु आचार्यको संचालनमा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य राख्नु भएको थियो ।










