
अर्जुन कार्की
बागलुङ, १२ माघ ।
गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा बागलुङ समुह चरणबाटै बाहिरिएको छ । समुह चरणका चार वटै खेलमा परिजित हुँदै प्रतियोगीताबाट बाहिरिएको हो ।
समूह चरणको अन्तिम खेल अन्तर्गत बागलुङ आईतबार म्याग्दीसँग ४–० गोलअन्तरले पराजित हुँदै खराब अन्त्य गर्यो । समुह चरणको चार खेल खेलेको बागलुङले १ गोल गर्दै १३ गोल खायो । पहिलो खेल तनहुँ फुटबल संघसँग १–० गोलअन्तरले पराजित भएको बागलुङ त्यसपछिका तीन खेलमा १२ गोल खाँदै आएको थियो ।
बागलुङले आफ्नो दोस्रो खेलमा स्याङ्जाको हेराइजन फुटबल संघ ४–० र तेस्रो खेलमा गैँडाकोट खेलकुद विकास समिति नवलपुरसँग ४–१ गोलअन्तरले पराजित भएको थियो । बागलुङको लागि एक मात्र गोल स्टाईकर प्रमेश थापाले गरेका थिए ।
नतिजाबाट खुसी छैनौंः कप्तान प्रमेश थापा

बागलुङका कप्तान प्रमेश थापाले लिगको नतिजाले खुसी नभएको प्रतिक्रिया दिएका छन । थापाले खबरवे अनलाईनसँग टेलिफोनमा कुरा गर्दै माघ १६ गतेदेखि बागलुङमा हुने मेयरकप फुटबल प्रतियोगिताको खेलाडी छनोटका रुपमा लिग प्रतियोगीतालाई हेरिएको हुँदा सन्तोष जनक प्रदर्शनी नभएको उल्लेख गरे ।
थापाले प्रतियोगितामा बागलुङको खेल उत्कृष्ट हुँदाहुँदै पनि गोल गर्ननसक्दा दुखद अन्त्य गर्नुपरेको बताए ।
टिममा धेरै जुनियर खेलाडीहरु रहेको बताउँदै कप्तान थापाले उनीहरु सोचेअनुरुपको खेल्न नसकेको बताए । ‘जुनियर भाईहरुमा अनुभवको कमी देखियो’ कप्तान थापाले भने –‘११ र १२ मा पढने नयाँ भाइहरु रहेको र ठूलो खेलमा अनुभवको कमी प्रष्ट देखियो ।’
कप्तान थापाले बागलुङ टिमको भरपर्दो डिफेन्स भएपनि मुख्य डिफेन्डर निशान थापा र आकाश केसी र मिडफिल्डर रोशन लामिछाने स्याङ्जासँगको खेलमा घाईते हुँदा त्यसपछि पछिको दुई खेलमा डिफेन्समा पनि कमजोरी देखिएको बताए ।
मेयरकपको लागि खेलाडी छनोट गर्नुपर्ने भएकाले ८/९ जना खेलाडी खेलमा सहभागी गराउँदा नतिजा अनपेक्षित आएको उल्लेख गरे । कप्तान थापाले बागलुङ टिमलाई मजबुत गराउने एन्फाले लामो समयको लक्ष्य निर्धाारण गरेर खेल गतिविधि संचालन गर्नुपर्नेमा जोडदिनुभयो । एन्फा एकेडेमीको खेल अनुभव लिएका खेलाडी बाहेक अन्य खेलाडीमा पुरानै पद्धतीको खेल छ’ उनले भने–‘ ग्रासरुट फुटबल कार्यक्रमलाई अगाडी पढाउनु पर्छ ।’
उनले स्कुलका प्रशिक्षक र नयाँ ठाउँमा सहायक प्रशिक्षकहरु राखेर ९, १० बर्ष उमेरका बालबालिकाहरुलाई फुटबल सिकाउनुपर्ने बताए ।
प्रतियोगीताको तयारी पुगेनः अध्यक्ष रामराज गुरुङ

एन्फा बागलुङका अध्यक्ष रामराज गुरुङले लिगको लागि छोटो तयारीका कारण निराशाजनक नतिजा भोग्नु परेको बताए । गुरुङले लिगको लागि छोटो तयारी र जुनियर र सिनियर खेलाडीहरु विच समन्वय नमिल्दा नतिजा सुखद नआएको बताए ।
उनले लिगलाई मेयरकपको लागि खेलाडी छनोटका रुपमा लिइएकोले अहिलै जिल्लाको फुटबल खस्केको भन्न नमिल्ने बताए । ‘हामीले लिगलाई मेयरकपको लागि खेलाडी छनोटका रुपमा लिएका थियौं’ अध्यक्ष गुरुङले भने–‘एउटा प्रतियोगिताको नतिजाले हाम्रो खेल खस्केको भन्न मिल्दैन, अहिलेको कमजोरीलाई हेरेर हामीले सुधार गर्नेछौं ।’
अध्यक्ष गुरुङ्गले पहिले संचालन हुँदै आएको ग्रासरुट तहको कार्यक्रम अहिले जाडोले स्थगित भएको थियो अब त्यसलाई निरन्तरता दिने बताए । गुरुङले जिल्लाका खेलाडीहरुलाई एन्फाले तलब दिएर राख्न नसकेको बताउँदै राम्रा खेलाडीहरु रोजगारीको लागि विदेशीने र अहिले २ जना खेलाडी ए डिभिजन लिग खेलिरहेकोले पनि उनीहरुको अभाव टिममा खड्केको बताए ।
जुनियर र सिनियर विच समन्वय मिलेनः खेलाडी निशान थापा

बागलुङ टिमका उपकप्तान तथा भरपर्दा खेलाडी निशान थापाले जुनियर र सिनियर खेलाडीहरु विच समन्वयको नमिलेकोले हारको सामना गर्नुपरको बताए । थापाले जुनियर र सिनियर विच प्रशिक्षण कम भएकाले समन्वय नहुँदा लिगमा खराव अन्त्य गर्नुपरेको बताए ।
उनले अन्य जिल्लाका खेलाडीहरु ठूला ठूला रहेको र उनीहरुसँग खेलको अनुभव र फिजिकल मजबुत रहेको तर बागलुङमा खेलाडीहरु धेरै ११ र १२ पढ्ने र खेलमा अनुभवको कमीले पराजित हुनुपरेको बताए ।
प्रतियोगिताको बारेमा प्रतिक्रिया लिन टिमका प्रशिक्षक भिम बोहोरालाई टेलिफोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।
२०७६ माघ १२ गते प्रकाशित










