बागलुङ, १ माघ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कप खेल्न बागलुङ ११ टिम आज कास्की जाने भएको छ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक कास्कीको आयोजनामा आजदेखि सुरु भएको माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कप–२०७६ मा उद्घाटन खेलको लागि बागलुङ ११ टिम कास्की गएको हो ।
गण्डकी प्रदेश क्लब स्तरीय खुल्ला ११ ए साईट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र बागलुङ ११ का विच खेल हुने आयोजकले जनाएको छ ।

माघ ६ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टिमको सहभािगता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाा प्राप्त गर्नेछन् ।
यस प्रतियोगितालाई माघ १६ गतेदेखि बागलुङ हुने खुल्ला नगरपालिका स्तरीय राष्ट्रिय मेयर कप प्रतियोगिताको तयारीको रुपमा हेरिएको बागलुङ ११ का प्रशिक्षक भिम बोहराले जानकारी दिए । उनले टिमको उद्देश्य विजेता भएपनि दबाबमा नखेल्ने बताए । प्रशिक्षक बोहराले प्रतियोगितामा आफ्नो कमजोरी पत्ता लगाउँदै माघ ४ गतेदेखि पोखरामा हुने गण्डकी प्रदेश मुख्यमन्त्री लिग र माघ १६ गतेदेखि बागलुङमा हुने मेयरकपमा सुधार गर्ने बताए ।










