बागलुङ, २८ पुस
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित हुमा कुमारी जि.सी. (अञ्जु) लाई गृह जिल्लामा सोमबार वधाई, शुभकामना तथा सम्मान गरिएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका अध्यक्ष जिसी महासंघको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएकोमा वधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको हो । संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुले महासंघको सञ्चालकमा निर्विरोध निर्वाचित भई गृह जिल्ला फर्केका जिसीलाई सोमबार सांझ वधाई ज्ञापन गरेका हुन् ।
संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काले बागलुङको सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर क्रियाशिल जिसी नेपालकै सहकारी अभियानको शिर्षस्थ निकायको नेतृत्वमा पुग्नु भएकोमा खुशी व्यक्त गर्दै संस्थाका तर्फबाट वधाई तथा शुभकामना सहित सम्मान गर्नु भएको थियो ।
हामी आदर्श सञ्चार परिवार गौरवान्वित छौ, उपाध्यक्ष खड्काले भन्नुभयो, निरन्तरको संघर्ष, मेहनत र असल व्यवस्थापनका कारण संस्थाका अध्यक्ष जिसीले देशकै सहकारी अभियानको नेतृत्वमा रहेर काम गर्ने अवसर प्राप्त गर्नु भएको छ ।
कार्यक्रममा महासंघका नवनिर्वाचित सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले वधाई तथा शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सहकारीमार्फत समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारीहरुको संस्थागत विकास, उद्यमशिलताको विकास तथा सदस्यहरुको समग्र विकासका लागि सहकारीहरुलाई अभिप्रेरित गर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले महासंघको लक्ष्य तथा उदेश्य अनुसार सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन थप सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले वधाई ज्ञापन गर्दै सहकारी क्षेत्रमा निरन्तर लागेर प्राप्त गरेको उपलब्धीलाई आगामी दिनमा गण्डकी प्रदेशकै सहकारी अभियानलाई प्रभावकारी बनाउने गरी अगाडि बढ्ने गरी काम गर्न सुझाव दिनुभयो ।
वधाई तथा शुभकामना कार्यक्रम संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काको अध्यक्षता, सचिव ललिता थापाको सञ्चालन र सहसचिव सरस्वती खड्का परियारको स्वागतमा सम्पन्न भएको थियो ।
राष्ट्रिय सहकारी महासंघको पुस २४ र २५ गते सम्पन्न २७ औं वार्षिक साधारणसभाबाट जि.सी. गण्डकी प्रदेशको नेतृत्व गर्दै महासंघको सञ्चालकमा निर्वाचित हुनु भएको हो । महासंघको साधारणसभाले मिनराज कंडेलको नेतृत्वमा २२ सदस्यीय सञ्चालक समिति र धर्मदत्त देवकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here