आर्मिलाई हराउँदै पुरुष भलिबलको उपाधि अनेरास्ववियू बागलुङले जित्यो (फोटो फिचर)

130

अर्जुन कार्की
बागलुङ, २२ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि अनेरास्ववियू बागलुङले हात पारेको छ ।
१३ औं साग खेलमा बिच भलिबलमा नेपाली टिमको प्रतिनिधित्व गरेका राजु विक सम्मेलित अनेरास्ववियू बागलुङले सोमबार भएको फाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।


साविक विजेता छन्त्याल कन्ट्रक्सनलाई सेमिफाइनलमा पराजित गरेर फाइनल प्रवेश गरेको २३ नम्बर बाहिनीको उपाधि सपना अनेरास्ववियूले तुषरापात पारिदियो ।
फाइलन खेलमा अनेरास्ववियूले पहिलो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पार्यो भने दोस्रो र चौथो सेट २३ नम्बर बाहिनी अड्डाले हात पारेको थियो ।


पहिलो सेटमा सुरुवातदेखि अग्रता लिएको अनेरास्ववियूले २५–१९ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेटमा २३ नम्बर बाहिनीले उत्कृष्ट पुनरागम गर्दैै ११–२५ ले उक्त सेट जित हात पारेको थियो । तेस्रो सेटमा अनेरास्ववियूले २५–२२ ले र चौथो सेटमा २३ नम्बर बाहिनी अड्डाले २१–२५ ले जित हातपार्दै उपाधिको लागि पाँचौं सेटसम्म पुग्नुपरेको थियो ।
अन्तिम सेटमा सुरुवातदेखि नै अग्रता बनाएको अनेरास्ववियूले १५–११ ले जित हातपार्दै उपाधि कब्जा गर्यो ।
यस्तै सोमबार नै छन्त्याल कन्ट्रक्सनले राष्ट्रिय युवा संघ विनामारेलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो । छन्त्यालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले जितेको थियो ।
प्रतियोगिताको विजेता अनेरास्ववियूले १ लाख ११ १ सय ११ रुपैयाँ प्राप्त गर्योभने उपविजेता २३ नम्बर बाहिनीले ५५ हजार ५ सय ५५ रुपैयाँ र तृतीय छन्त्याल कन्ट्रक्सनले ३० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाए । लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा क्वाटरफाइनल पुगेका ८ टिमले प्रतिदिन ५ हजार रुपैयाँ भत्ता प्राप्त गरेका थिए ।


प्रतियोगितामा अनेरास्ववियूका प्रकाश सुनार उत्कृष्ट खेलाडी घोषणा भए । उनले नगद पाँच हजार सहित ट्रफि पाए । उत्कृष्ट लिफ्टर अनेरास्ववियुका मिन सुनार र उत्कृष्ट ब्लकर अनेरास्ववियुकै राजु वि.क घोषित भए । प्रतियोगिताका उत्कृष्ट स्पाइकर छन्त्याल कन्स्ट्रक्सनका लक्ष्मण सुनार भए । उत्कृष्ट डिफेन्डर २३ नम्बर बाहिनीका दिलबहादुर क्षेत्री र उत्कृष्ट सर्वर २३ नम्बर बाहिनीका दिनेश मल्ल चुनिए ।
महोत्सव पुस ११ देखि २१ गतेसम्म संचालन भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here