बागलुङ, १९ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबलमा तीन टिम सेमिफाइनल प्रवेश गरेका छन् ।
शनिबार भएको क्वाटरफाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा, छन्त्याल कन्ट्रक्सन र अनेरास्ववियू बागलुङले जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो क्वाटरफाइनल खेलमा २३ नम्बर बाहिनी अड्डाले मनसुन दालमोठलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । २३ नम्बर बाहिनी अड्डाले मनसुनलाई पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले पराजित गरेको थियो ।
दोस्रो क्वाटरफाइनल खेलमा छन्त्याल कन्ट्रक्सनले गण्डकी प्रदेश प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो र दोस्रो सेट क्रमशः २५–२० र २५–२१ ले पराजित भएको छन्त्यालले तेस्रो, चौथो र पाँचौं सेट क्रमश २५–१६, २५–१४ र १५–१२ ले जित हात पारेर सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै शनिबार नै भएको तेस्रो क्वाटरफाइनल खेलमा अनेरास्ववियू बागलुङले भीमापोखरा वार्ड खेलकुद समितिलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो र दोस्रो सेट क्रमसः २५–२१ र २५–२१ ले जितेको अनेरास्ववियू तेस्रो सेट २२–२५ ले पराजित भएको थियो । अनेरास्ववियूले चौथो सेट १५–१४ ले जित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको चौथो क्वाटरफाइनल खेल भोली आईतबार राष्ट्रिय युवा संघ विनामारे विरुद्ध ग्लोरियन भलिबल ट्रेनिङ सेन्टर (निलो) विच हुने रेफ्रि संयोजक सन्दिप पन्तले जानकारी दिनुभयो । यस्तै भोलीनै पहिलो सेमिफाइनल २३ नम्बर बाहिनी अड्डा विरुद्ध छन्त्याल कन्ट्रक्सन र अनेरास्ववियू विरुद्ध चौथो क्वाटरफाइनलको विजेता विच हुने रेफ्रि संयोजक पन्तले बताउनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here