बागलुङ, १७ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल अन्तरगत समुह चरणका खेलहरु सकिएका छन् ।
लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा बिहीबार समुहचरणका खेलहरु सम्पन्न भएका हुन । बिहीबार चार खेल भएका थिए । बिहीबार अनेरास्ववियु बागलुङ, छन्याल कन्ट्रक्सन, खेलकुद विकास समिति भीमापोखरा र राष्ट्रिय युवा संघ विनामारेले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अनेरास्ववियु बागलुङले धौलागिरी प्राविधिक अध्ययन प्रतिष्ठानलाई २–० का सोझो सेटमा पराजित गरेको थियो । अनेरास्ववियुले धौलागिरी प्राविधिकलाई पहिलो सेट २५–१२ र दोस्रो सेट २५–९ ले पराजित गरेको थियो । जितसँगै अनेरास्ववियु समुह उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त समुहबाट मनसुन दालमोठ समुह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यस्तै बिहीबारको दोस्रो खेलमा छन्त्याल कन्ट्रक्सनले ग्लोरियन भलिबल ट्रेनिङ सेन्टर (निलो)लाई २–० को सोझो सेटमा पराजित गरेको छ । सुरुवातदेखि पछि परेको छन्त्यालले पहिलो सेट उत्कृष्ट पुनरागमन गर्दै ग्लोरियन विरुद्ध २५–२२ को जित निकालेको थियोभने दोस्रो सेट २५–१६ ले जितेको थियो । जितसँगै छन्त्याल कन्ट्रक्सन समुह चरणको विजेता र हारे पनि भलिबल ट्रेनिङ सेन्टर उपविजेताको रुपमा क्वाटरफाइनल पुगेका छन् ।
तेस्रो खेलमा भीमापोखरा वार्ड खेलकुद समितिले २३ नम्बर बाहिनी अड्डालाई २–० को सोझो सेटमा पराजित गरेको छ । सर्भिसमा कमजोर देखिएको बाहिनी विरुद्ध भीमापाखराले पहिलो सेट २३–२५ र दोस्रो सेट २०–२५ ले जितेको थियो । जितसँगै भीमापोखरा समुह विजेता र बाहिनी अड्डा उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै आजको चौथो खेलमा राष्ट्रिय युवा संघ विनामारेले कादेश लेखानीलाई २–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२१ ले जितेको विनामारेले दोस्रो सेटमा २२–२५ को हार बेहोरेको थियो । तेस्रो सेटमा २५–१६ को जित निकाल्दै विनामारे समुह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त समुहबाट प्रदेश प्रहरी उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत भोली शुक्रबार क्वाटरफाइनलको पहिलो खेल मनसुन दालमोठ उद्योग विरुद्ध २३ नम्बर बाहिनी अड्डा, दोस्रो खेल छन्त्याल कन्ट्रक्सन विरुद्ध गण्डकी प्रदेश प्रहरी टिम, तेस्रो खेल भीमापोखरा वार्ड खेलकुद समिति विरुद्ध अनेरास्ववियु बागलुङ र चौथो खेल राष्ट्रिय युवा संघ विनामारे विरुद्ध ग्लोरियन भलिबल ट्रेनिङ सेन्टर (निलो) विच हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघले आयोजना सगरेको महोत्सव पुस २० गतेसम्म संचालन हुनेछ ।








