नेपालले पानी बेचेर धनि बन्छः प्रतिनिधिसभा सदस्य पाठक

बागलुङ, २९ मंसिर ।
प्रतिनिधिसभा सदस्य सुर्य पाठकले नेपालले अब पानी बेचेर धनि बन्ने बताउनुभएको छ ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न पाँचौं बार्षिक साधारणसभामा बोल्दै सांसद पाठकले नेपालले भारतलाई विद्युत बेच्न सुरु गरेको बताउँदै अब नेपालको विकास पानी र विद्युतबाट हुने बताउनुभयो ।
नेपालमा ३ ४ बर्ष पहिले मोबाइल चार्ज गर्न कतिखेर विद्युत आउँछ भनेर कुनुपर्ने अवस्था रहेको थियो अहिले त्यसको अन्त्य भएको छ सांसद पाठकले भन्नुभयो–‘नेपालले लोडसेडिङ्गको अन्त्य गरेर इतिहास रच्यो र त्यो भन्दा पनि महत्वपूर्ण भारतलाई विजुली बेचेर ठूलो इतिहास रच्यो ।’ उहाँले अहिले केहि देशले तेल बेचेर धनी बनेका छन् त्यस्तै नेपाल अब पानी बेचेर धनि बन्छ ।
सांसद पाठकले नेपालमा कृषि क्षेत्रको अनुदान सच्चा कृषकले नपाउने गरेको गुनासो रहेको बताउँदै त्यसको अन्त्यको लागि सरकारले नयाँ नीति ल्याउन लागेको बताउनुभयो । उहाँले कृषि अनुदानको लागि राम्रो प्रपोजल चाहिने र त्यो कृषकले नभएर गैरकृषकले लेखेर अनुदान खाने गरेको परिपाटी रहेको बताउँदै अब सरकारले कृषकहरुको फर्महरुको अनुगमन गरेर दिने नीति आउन लागेकाले सच्चा कृषकहरुलाई फाइदा हुने बताउनुभयो ।
सांसद पाठकले नेपाल कृषि प्रदान देश भएकाले सवैलाई कृषिमा जोडिन अनुरोध गर्दै उत्पादनमा जोडिनको लागि बाँझो जग्गाहरु प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले गाउँको जग्गा बाँझो राखेर शहर पस्ने र कुल पुजा लगायतका चाडहरुमा गाउँमा जाने प्रथा बढ्दो रहेको बताउँदै अब बाँझो जग्गा राख्नेहरुलाई सरकारले कारवाही गर्ने गरि कानुन निर्माण हुन लागेको बताउनुभयो ।
साधारणसभाको अवसरमा कृषि समाचार संकलन गरेको भन्दै जननिगरानी साप्ताहिक पत्रिकाका सह–सम्पादक अर्जुन कार्कीलाई सम्मान गरिएको थियो । यस्तै संस्थाका सल्लाहकार डिल्लीराज गौतम र चन्द्रमणि उपाध्याय, संस्थाप्रति सधै चासो राखेको भन्दै मानबहादुर कार्की र संस्थापक उपाध्यक्ष धन बहादुर कार्की, शेयर सदस्य राजु केसी र डिल्लीप्रसाद आचार्यलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको थियो ।
सहकारीले संस्थामा कारोवार गर्ने बचतकर्ता, असल ऋणी, जेष्ठ नागरिक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष जगन्नाथ सापकोटाले संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ११ करोड ८४ लाख ४८ हजार ८ सय ८१ रुपैयाँको आर्थिक कारोबार गरेको जानकारी गराउनुभएको थियो । उहाँले आ।व। ०७५÷०७६ मा १ लाख २ हजार ५ सय २४ रुपैयाँ मुनाफा कमाउन सफल भएको समेत जानकारी गराउनुभएको थियो । उक्त अवसरमा सचिव चुडामणि उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडका सल्लाहकार चन्द्रमणि उपाध्याय, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्मा, भीमापोखरा युवा क्लबका कार्यवहाक अध्यक्ष मणिभद्र शर्मा, सूचना तथा संचार केन्द्रिय सहकारी संघका लेखा समिति सदस्य खिमबहादुर कार्की, सहकारीका शेयरसदस्य महादेव सापकोटा र साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रिता थापा र संचालन सचिव चुडामणि उपाध्यायले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here