
काठमाडौँ, २१ मंसिर ।
सुटिङमा स्वर्ण पदक जित्ने बागलुङकी श्रेया केसीको सपना चकनाचुर भएको छ । प्रयाप्त अभ्यास, दरिलो आत्मविश्वास तथा विगतमा समेत सुटिङमा निकै उत्कृष्ट केसीले खिया लागेको पेस्तोल नपड्किएपछि किर्तिमानी केसी रित्तो हात फर्किनुपरेको छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ १० मिटर सुटिङमा स्वर्ण जितेकी केसीले १३ औ सागमा देशका लागि स्वर्ण पदक जित्ने सपना खिया लागेको हतियारसँग पौठेजोरी गर्नुपर्दा पदक पुमेको बताईन् ।
‘पेस्तोल नै चलेन्,‘अन्य प्रतिस्पर्धीलाई माग्दा समय गइसकेको थियो’ केसीले भनिन् । उनले आफ्नो देशको लागि पदक थप्ने योजना असफल भएको भन्दै ब्यवस्थापन पक्ष कमजोर हुदाँ पदक गुमाउनुको पीडाले पोलेको बताईन् । प्रतियोगितामा १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बनेको थियो । सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन ।
बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो । तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो । फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो । अनि उनको मनमा पनि सन्नाटा छायो ।
खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन् । उनी हतियारबाट छोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन् । अन्य देशका खेलाडी सुट गरिहेका थिए । उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन् । वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे । फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुपयो ।
बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो । निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट परीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गोली प्रहार गर्न निर्देशन दिए । तर उनीसँग हतियार भएन । सहभागी अन्य राष्ट्रका खेलाडीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको विवरण नपुगेको भन्दै प्रयोग गर्न नपाउने जनाए ।
४० गोली हान्दासम्म चौथो स्थानमा भएकी श्रेया अन्तिममा ५ सय ३३ अंकका साथ सातौं स्थानमा रहिन् । जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन् । ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई काम नलाग्ने सेकेन्ड ह्यान्ड सामग्री दिएकाले यस्तो अवस्था आएको आरोप सुटिङ संघले लगाएको छ ।
श्रेयालाई हतियारले धोका दिएपछि सुटिङ संघका क्रुद्ध भएका छन् । श्रेयाबाटै स्वर्णपदकको आश गरिएको थियो , जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन् । ती सबैले एउटै इभेन्टमा एकै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । खेललाई नै जीवन समर्पण गरेका खेलाडीको सपना जिम्मेवार निकायको गल्तीले यसरी टुंगिनु दुःखदायी भएको सुटिङ संघका अधिकारीको गुनासो छ ।










