
नवीन शिशिर
बागलुङ, १४ मंसिर ।
बागलुङको क्षेत्र नम्बर–२ (ख) मा गण्डकी प्रदेशसभा र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
शनिबार विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिए ।
उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएको थियो । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता रहेको थिए ।
मतदान कार्यक्रम सकिए लगतै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम सुरु भएको छ ।

शनिबार राती अवेरसम्म मतपेटीका संकलन भएपछि आईतबार विहानदेखि मतगणता सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकृत पौडेलको भनाई छ । ‘अहिले मतपेटीका संकलनको काम सुरु भएको’ उहाँले भन्नुभयो–‘सर्वदलिय बैठकले मतगणताको समय निश्चित गर्ने छ ।’
प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।
उता, बडिगाड–२ मा भएको वडाध्यक्ष निर्वाचनमा एक हजार ७४२ मतदाता मध्ये एक हजार १३४ मत खसेको छ । वडाध्यक्षको मतगणता शनिबार राती ८ बजेदेखि बडिगाड गाउँपालिकाको सभाहलमा हुने पत्रकार कमल पौडेलले जानकारी दिनुभएको छ । राती १२ बजेसम्म वडाध्यक्षमा मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
वडाध्यक्षमा नेकपाकाको तर्फबाट ढलप्रसाद सेरचन ‘ढालेन्द्र’, काग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका थिए । मतदानको अघिल्लो दिन शुक्रबार विशेष गरी संयुक्त बामगठबन्धन र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोपको घटना भए पनि मतदानको दिन शनिबार कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एपी नवराज भट्टले बताए ।
जिल्ला प्रहरी प्रमुख भट्टले उपनिर्वाचन शान्तिपूर्ण समपन्न गर्न सहयोग गर्ने सबैलाई सामाजिक सञ्जाल फेसबुक मार्फत आभार व्यक्त गरेका छन् । ‘चुनाव शान्तिपूर्ण सम्पन्न भयो–उनले भने–‘सबै राजनीतिक दल र मतदाताको संयमताले हार्दिकतापूर्वक उपनिर्वाचन सकिएको छ ।’ निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा रहेको थियो ।










