
बागलुङ, १० मंसिर ।
बागलुङको गाईघाट झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थलमा ताराखोला गाउँपालिका–१ स्थित उक्त झरनामा आन्तरिक पर्यटकको चाप बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।
झरना अवलोकनका लागि बागलुङ सहित पर्वत, गुल्मी, म्याग्दी लगायत जिल्लाबाट दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । केही दिनअघि झरना अवलोकनका लागि पुगेका बागलुङ नगरपालिका–३ का निकेश खड्काले झरनाले आफूलाई लोभ्याएको अनुभव सुनाए । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झरनाबारे थाहा पाएर यहाँ पुगेका उनले यस क्षेत्रको पर्यटन विकासमा झरना महत्त्वपूर्ण भएको बताए ।

गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको उक्त झरना ५० मिटर अग्लो छ । झरना क्षेत्रमा आजभोलि शैक्षिक भ्रमण र वनभोजका लागि समेत आउनेहरू बढेकोे स्थानीय मनबहादुर लामिछानेले बताए । यहाँ आउने आन्तरिक पर्यटक बढ्दै गएपछि ताराखोला गाउँपालिकाले झरनाको प्रवद्र्धन कार्यक्रम शुरू गरेको छ । झरनामा पौडी पोखरी, बगैंचा, मन्दिर, विश्रामस्थल, होटल÷रेस्टुराँ लगायत संरचना बनाउन प्रदेश सरकारसँग बजेटका लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।
झरना अवलोकनका लागि गत आर्थिक वर्षदेखि टिकटको व्यवस्था गरिएको छ । प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क लिने गरिएको टिकट विक्रेता अम्मरबहादुर नाइसाले बताए । समूहमा पाँच जनाभन्दा बढी आएमा एक जनालाई र १० जनाभन्दा बढी आएमा दुई जनालाई निःशुल्क प्रवेश दिइने उनले जानकारी दिए । यस्तै शैक्षिक भ्रमणमा आएको टोलीलाई ५० प्रतिशत र सहकारी, आमा समूह जस्ता संस्थालाई ३३ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको उनले बताए ।










