
बागलुङ, ९ मंसिर ।
अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सोमबार काठेखोला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियानको पहिलो दिन स्थानिय महिला समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले महिलाहरु एक जुट भई आफुहरुलाई परेको हिंसाको विरुद्धमा आवज उठाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले महिलाहरुको हिंसा विरुद्धको अभियानमा काठेखोला गाउँपालिकाले सधैं सहयोग गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले महिला हिंसा एक दिन मात्र अन्त्य भएर नहुने बताउँदै सधैंको लागि अन्त्य हुनुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर खत्री, वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, गाउँकार्यपालिका सदस्य टिका संगम वि.क., प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., स्थानिय महिला समन्वय समिति सदस्य कोपिला पुन लगायतले बोल्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा अधिवक्ता राम शर्माले लैंगिक हिंसा विरुद्धको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
स्थानिय महिला समन्वय समितिका संयोजक चित्रकला श्रीसको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको स्वागत गाउँकार्यपालिका सदस्य सुन्तली वि.क. र संचालन गाउँपालिकाका सहायक महिला विकास निरिक्षक रश्मी गौतमले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा काठेखोला गाउँपालिकाका महिला जनप्रतिनिधिहरु र स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।










