बागलुङ, २९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङले उपचुनावको मिति नजिकिदै गर्दा २ जनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
नेकपा बागलुङको कार्तिक २८ गते अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा बसेको बैठकले पार्टीको नीति विपरित काम गरेको भन्दै पार्टीको अन्तरिम विधान ०७५ को धारा ५६ (क) को (८) बमोजिम ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ निवासी पार्टी सदस्य तुल्सीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन गर्नुका साथै ढोरपाटन नगरपालिका वडा नम्बर २ का पार्टी सदस्य दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गरेको प्रेस विज्ञप्तीबाट जनाएको छ ।
मंसिर १४ गते हुन लागेको उपचुनावमा बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख)मा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेपनि शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले उम्मेदवारी फिर्ता गर्नको लागि मुख्य निर्वाचन कार्यालयमा जाँदै गर्दा समय सकिएको थियो ।
घर्तीको उम्मेदवारी कायम गर्न गरिएको हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि, उम्मेदवारी मिडप्याक भइसकेको अवस्थामा शेरमान घर्तिको चुनाव चिन्हलाई दुरुपयोग गरी पार्टीलाई नै असफल गराउन लागि परेकाले उनीहरुलाई पार्टी सदस्यबाट नै निष्काशन गरिएको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
स्वतन्त्र उम्मेदवारी दिएका घर्तीले प्रेश विज्ञप्ती प्रकाशन गर्दै उम्मेदारी फिर्ता लिन नपाएपनि आफ्नो उम्मेदवारी खारेज गरेको बताउँदै बाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । घर्तीलाई नै बाम गठबन्धनबाट उम्मेदवार बनेको राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीको चुनावी कमाण्डको जिम्मेबारी तोकिएको छ ।
नेकपाले प्रेश विज्ञप्ती मार्फत संयुक्त बाम गठबन्धनका उम्मेदवार खिम बिक्रम शाहीलाई जिताउन सम्पूर्ण पार्टी पंत्तिलाई आव्हान गरेको छ ।











