
अर्जुन कार्की
बागलुङ, २५ कार्तिक ।
फ्युचर स्पोर्टस् क्लबले आयोजना गरेको प्रथम फ्युचर कप एफ–१५ अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि फ्युचर ब्राईटर माविले जितेको छ ।
प्रतियोगिताको फाइनल खेलमा सोमबार अमर आदर्श माविलाई ७ विकेटले पराजित गर्दै फ्युचर ब्राईटर माविले उपाधि चुमेको हो ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको फ्युचरले १२.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
खराव सुरुवात गरेको फ्युचरको लागि कप्तान दिपक कुँवरले कप्तानी पारी खेल्दै जित दिलाएका थिए । कुँवरले अविजित ३५ बलमा ७ चौका र ५ छक्काको मद्धतमा ६३ रन प्रहार गरेका थिए । फ्युचरको लागि सन्देश खड्काले २४ बलमा अविजित ३४ रन र दिनेश अधिकारीले ७ बलमा २१ रन प्रहार गरेका थिए ।

अमर आदर्शको लागि अर्जुन गिरी, पारस केसी र सन्दीप कंडेलले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको अमर आदर्शले १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
अमर आदर्शको लागि अर्जुन गिरीले ३८ बलमा ५१ रन र विरेन्द्र चन्दले १८ बलमा अविजित ४८ रन बनाएका थिए ।
फ्युचरका आदेश शर्माले २, सन्देश खड्का, तुल बहादुर थापा र दिनेश अधिकारीले सम्मान १–१ विकेट लिएका थिए ।
प्रतियोगिताको उपाधि चुमेको फ्युचरले ४० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै उपविजेता अमर आदर्शले २० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा फ्युचरका कप्तान दिपक कुँवर उत्कृष्ट खेलाडी घोषित हुँदै ४ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान अमर आदर्शका रोविन कार्की र उत्कृष्ट बलर फ्युचरका तुल बहादुर थापा घोषित हुँदै दुवैले सम्मान २–२ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका विजेताले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पुरस्कार वितारण गर्नुभएको थियो ।
पुरस्कार वितारण समारोहको अध्यक्षता फ्युचर स्पोर्टस् क्लबका अध्यक्ष बालकृष्ण शर्मा र संचालन फ्युचर ब्राईटर माविका शिक्षक सुर्वण मल्लले गर्नुभएको थियो ।
२० गतेदेखि संचालन भएको प्रतियोगितामा बागलुङ र पर्वतका १५ टिमले सहभागिता जनाएका थिए ।










