प्रथम फ्युचर कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा

बागलुङ, २३ कार्तिक ।
फ्युचर स्पोर्टस् क्लबको आयोजनामा बागलुङमा जारी प्रथम फ्युचर कप एफ–१५ अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिता अन्तरगत शनिबार धाइरेनि मावि पाङ, अमर आदर्श मावि र डिग्नीटी कलेज विजयी भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । शुक्रबार नै पहिलो क्वाटरफाइनल खेलमा विजयी हुँदै फ्युचर ब्राईटर मावि सेमिफाइनलमा प्रवेश गरेको थियो ।
शनिबार भएको पहिलो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुललाई पराजित गर्दै १० विकेटले पराजित गर्दै धाईरेनी मावि सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितको लागि ३१ रनको लक्ष्य पछ्याएको धाइरेनीले २ ओभर ४ बलमा लक्ष्य भेटाएको थियो । उसको लागि विशाल पौडेलले विष्फोटक व्याटिङ गर्दै १३ बलमा २१ रन बनाएका थिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको चिल्ड्रेन लाईफ ७ ओभरमा ३० रन बनाउँदा अलआउट भएको थियो । चिल्ड्रेन लाईफको लागि मनोज थापाले १३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । चिल्ड्रेन लाईफका ४ खेलाडी ० रनमै आउट भएका थिए । धाइरेनी माविको लागि अमृत रिजालले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएका थिए ।
यस्तै शनिबार भएको दोस्रो खेलमा मातादेवीलाई ५० रनले पराजित गर्दै अमर आदर्श मावि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको अमर आदर्श माविले २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि रोविन कार्कीले अर्धशतक प्रहार गरेका थिए । ओपनर कार्कीले २१ बलमा ५६ रन प्रहार गरेका थिए ।
२ सय ९ रनको विजयी लक्ष्य पछ्याएर जबाफी व्याटिङ गरेको मातादेवी १ सय ५८ रन बनाउँदा १५ ओभरमा अलआउट भएको थियो । मातादेवीको लागि परशुरामले ७२ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले सम्झना लायक खेलेनन् ।
अमर आदर्शको लागि रोविन कार्की, पारस केसी, अर्जुन गिरीले समान २÷२ विकेट लिएका थिए ।
यस्तै अन्तिम क्वाटरफाइनल खेलमा डिग्नीटी कलेज (ए)ले डिग्नीटी कलेज (वि)लाई ६४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको डिग्नीटी (ए)ले १ सय १८ रन बनाउँदा अलआउट भएको थियो । खराव सुरुवात गरेको डिग्नीटी (ए)को लागि ९ औं नम्बरमा व्याटिङ गर्न आएका अशोक कार्कीले विष्फोटक व्याटिङ गर्दै सम्मानजनक स्कोरमा पुराएका थिए । कार्कीले अविजित १२ बलमा ३४ रन प्रहार गरेका थिए । डिग्नीटी (बि)को लागि विनोद किसानले ३ विकेट लिएका थिए । १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको डिग्नीटी (बि) ११ ओभरमामा ५४ रनमा अलआउट भएको थियो । डिग्नीटी विको लागि विसाल लम्सालले १२ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
डिग्नीटी एको लागि सविन गौचनले ३ र अशोक कार्कीले २ विकेट लिएका थिए ।
२५ गते सम्पन्न हुने प्रतियोगिता अन्तरगत आईतबार (भोली) सेमिफाइनलका खेलहरु हुने छन् । आईतबारको पहिलो सेमिफाइनल खेल अमर आदर्श मावि विरुद्ध धाइरेनी मावि पाङ र दोस्रो सेमिफाइनल खेल फ्युचर ब्राइटर मावि विरुद्ध डिग्नीटी मावि (ए) विच हुने फ्युचर स्पोट्स क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here