
बागलुङ, १७ कार्तिक
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बागलुङ जिल्लाको क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु पछि रिक्त रहेको प्रदेश सदस्य पदको लागि हुने निर्वाचनको लागि आईतबार जिल्ला समन्वय समिति बागलुङको भवनमा कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको स्थापना पछि जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले निर्वाचन सफल पार्नको लािग सवै जिम्मेबार बन्नुपर्ने बताए । उनले उपनिर्वाचन सफल पार्नको लागि जिल्लाका सवै राजनीतिक दलहरुको पूर्ण सहयोग, पूर्ण सक्रियता र पूर्ण प्रतिबद्धता चाहेको बताए ।

कार्यालयको स्थापनासँगै मुख्य निर्वाचन अधिकृत न्यौपानेले निर्वाचनको समय तालिका सार्वजनिक गर्नुभएको थियो । निर्वाचन तालिका अन्र्तगत उम्मेदवारको मनोनयनपत्र दर्ता कार्तिक २१ गते, सोहि दिन नै नामावली सूचि प्रकाशन गरिने, कार्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र २३ गते मनोनयनपत्र र उजुरी उपर जाचबुझ गरिने र सोहि दिन नै उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ । यस्तै २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, २५ गते सवै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र मंसिर १४ गते निर्वाचन हुने जनाइएको छ ।
उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश ‘ख’मा ३६ हजार ९ सय २६ मतदाता सहभागि हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख विकासचन्द्र शर्माले जानकारी दिए । यो क्षेत्रमा उपनिर्वाचनका लागि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा २५ मतदानस्थल रहने जनाइएको छ ।
यस्तै बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ मा रिक्त रहेको वडाअध्यक्ष पदको उपनिर्वाचनको लागि कार्तिक २० गते मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिने भएको छ । गाउँपालिकाको कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
वडाअध्यक्षमा निर्वाचन विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमूखमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।










