
बागलुङ, ४ कार्तिक ।
बागलुङको क्षेत्र नं. २ प्रदेश (ख)मा आगामि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय जनमोर्चा बागलुङले उम्मेदवार छनोटको लागि केन्द्रिय समितिलाई आग्रह गरेको छ ।
जनमोर्चाको कार्तिक ३ गते (आईतबार) बसेको जिल्ला समितिको बैठकले ३ जनाको नाम केन्द्रिय कमिटिमा सिफारिस गरेको हो ।
जनमोर्चाबाटै उम्मेदवार बनि विजय भएका प्रदेश सभा सदस्य टेक बहादुर घर्ति मगरको निधनपछि खाली भएको उक्त चुनावी क्षेत्रमा उम्मेदवारको लागि उनकी धर्मपत्नी सुनमाया घर्ति मगर, जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवर र जिल्ला सदस्य खिम विक्रम शाहीको नाम जिल्ला समितिले केन्द्रिय समितिलाई पठाएको सचिव भिमलाल पोखरेलले बताउनुभयो ।
यस अघिको निर्वाचनमा बाम तालमेल भएपनि यस वर्ष हुने वा नहुने बारेमा अझै औपचारिक छलफल नभएको राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
यस अगाडीको निर्वाचनमा बागलुङ जिल्ला भरनै तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरी बाम गठबन्धनबाट चुनावमा होमिएका थिए ।










