
बागलुङ, ४ कार्तिक ।
जिल्ला अदालत बागलुङले पहिलो पटक आत्महत्या दुरुत्साहन मुद्दामा एक युवालाई कारागार चलानको आदेश दिएको छ ।
बागलुङ नगरपालिका–४ कँुडुले ठुलाश्वाराका २७ वर्षिय भुवन केसीले आफ्नै श्रीमती २५ वर्षिय सहनसिला केसीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
सहनसिला केसीले असोज ५ गते आत्महत्या गरेकी थिईन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका मृतकका ससुरा ५२ वर्षिय डम्मरबहादुर केसी र ४२ वर्षिय शासु भगवती केसी जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ ।










