
बागलुङ, ३ कार्तिक ।
बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौरमा आईतबारदेखि सुरु भएको खुल्ला सेवेन ए साइड फुटबल प्रतियोगितामा आयोजक संयुक्त चार युवा क्लबले विजयी सुरुवात गरेको छ ।
आईतबार भएको उद्घाटन खेलमा आयोजक संयुक्त चार युवा क्लब (निलो)ले गेम सो स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आयोजकको जितको लागि खेलको ५ औं मिनेटमा अविमत लामा र १५ औं मिनेटमा टप पुर्जाले गोल गरेका थिए । खेलअवधिभर दुवै टिमबाट गोलको लागि केहि अवसर प्राप्त गरेपनि गोल गर्न नसक्दा खेल आयोजकले जितेको हो ।
नकआउट चरणमा खेलाइएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ ।
संयुक्त चार युवा क्लबले तिहारको अवसर पारेर प्रथम दशैं तिहार मेला–२०७६ मा आयोजना गरेको फुटबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।










