
बागलुङ, १ कार्तिक ।
बागलुङ बजार क्षेत्रको नाली तथा सडक मर्मतमा गुणस्तरहिन काम भएको भन्दै बागलुङ नगरपालिकाले त्यस्ता ठाउँमा भत्काएर पुनः निर्माण गर्न लगाएको छ ।
सडक बोर्डमार्फत बागलुङ नगरपालिकामार्फत सञ्चालित सडक मर्मतका क्रममा केही ठाउँमा गुणस्तरहिन काम भएको पाइएपछि भत्काएर पुनःनिर्माण गर्न लगाइएको बागलुङ नगरपालिकाले जनाएको छ । सडक बोर्डबाट प्राप्त ८२ लाख २१ हजार रुपैयाँमा बागलुङ नगरपालिका वडा नम्बर एकको रामरेखा, दुईको राइटरको चोकदेखि बागलुङ बेनी राजमार्ग जोड्ने सडक, वडा नम्बर तीनको विद्युत चोकदेखि स्यानीपिपल र वडा नम्बर चारको आर्मी क्याम्प अगाडि र ओढारचौर ढोडेनी सडक खण्डमा विग्रएका संरचना मर्मतका लागि तिलक निर्माण सेवाले ठेक्का पाएको थियो ।

बागलुङ नगरपालिकाले प्राविधिक मूल्याङ्कन गर्दा बागलुङ नगरपालिका वडा नम्बर एकको रामरेखामा गरिएको सडक मर्मत गुणस्तरहिन भएको पाइएपछि त्यसलाई उप्काएर पुनः निर्माण गर्न लगाइएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।
सडक बोर्डबाट प्राप्त बजेटबाट चार वटा वडाका विभिन्न सडक तथा नाली मर्मतको काम सुरु गरिएकोमा रामरेखामा गुणस्तरहिन काम भएको पाइएपछि सडक भत्काएर निर्माण कम्पनीलाई सडक भत्काएर पुनःनिर्माण गर्न लगाइएको थियो । ‘हामीले नगरका धेरै ठाउँमा काम गरिरहेका छौं, सडक मर्मतका लागि कालोपत्रे भइसकेको ठाउँमा समेत गुणस्तरहिन देखिएपछि भत्काएर निर्माण भइरहेको छ, लगत इष्टीमेटमा भए अनुसार काम भए नभएको बारेमा अनुगमन गरेर सोही अनुसार काम गरिरहेका छौं ।’ इन्जिनियर शर्माले भन्नुभयो ।










