
अर्जुन कार्की
बागलुङ, ८ असोज ।
प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पूर्णिमा मेलामा आयोजना गरिएको खुल्ला पालिका स्तरिय भलिबल प्रतियोगिताको रनिङ गोल्ड कपमा २० ग्रामको सुन राखिने भएको छ ।
बुर्तिबाङ राइजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाले संयुक्त रुपमा असोज २६ देखि कार्तिक २ गतेसम्म आयोजना गरेको प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप एवं पूर्णिमा मेलामा मुख्य आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगिताको विजेताले २० ग्रामको सुन सहितको गोल्ड कप पाउने छ ।
बागलुङ बजारमा बुधबारको सुनको रेट अनुसार १ लाख २६ हजार पर्ने उक्त सुन राखिने गोल्ड कप आकर्षक रुपमा डिजाइन गरिने पत्रकार सम्मेलनमा बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सोमबहादुर पौ.वि.ले जानकारी दिए ।
परापुर्वकालदेखि बुर्तिबाङमा संचालन हुँदै आएको कोजागत पूर्णिमा मेलामा यस वर्षदेखि ढोरपाटन नगरपालिका पनि आयोजक रहने गरि मेयर रनिङ गोल्ड कप भलिबल संचालन गर्न लागिएको हो ।
यस वर्षदेखि आयोजना हुन लागेको पुरुष र महिला खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिताको विजेताले प्राप्त गरेको गोल्ड कप कब्जा गर्नको लागि ३ वर्षसम्म लगातार जित्नुपर्ने आयोजकले जनाएको छ ।
२५ टिमसम्मले भाग लिने आकांक्षा गरेको पुरुष खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिताको विजेताले रनिङ गोल्ड कप सहित १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छ । यस्तै महिला तर्फको विजेताले गोल्ड कप सहित ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पौ.विले बताए ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने लक्ष्य लिइएको मेलामा बुर्तिबाङ क्षेत्रका संस्कृति र झाँकीहरु प्रदर्शन गरिने अध्यक्ष पौ.विले जानकारी दिए । पुराना कला संस्कृतिको जगेर्ना र संरक्षणको लागि मेलामा बुर्तिबाङ क्षेत्रको मारुनी नाँच, सराँयो नाँच, झ्याउरे नाँच लगायतका एतिहासिक तथा जातजातिहरुको भेषभुष र संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
मेला सम्पन्न गर्नको लागि आयोजकले ३६ लाख ५० हजार रुपैयाँको लागत अनुमान गरेको छ । मेलामा खुल्ला एकल तथा समुह नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रस्साकस्सा प्रतियोगीता, स्लोबाईक रेश प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, कृषि प्रदर्शनी, शरायँ नाच, झँक्री नाच लगायतका झाँकी प्रदर्शनी, बागलुङ जिल्ला स्तरीय मेन्स डवल ए र मेन्स डबल ग्रुप विको व्याडमिन्टन प्रतियोगिता एवं जिल्ला स्तरीय तेक्वान्दो च्याम्पीयनशीप आयोजना गरिएको छ ।










