काँग्रेसको दोस्रो चरणको जनजागरण अभियान सकियो

बागलुङ, ७ असोज ।
नेपाली काँग्रेस सञ्चालन गरेको दोस्रो चरणको जनजागरण अभियान कार्यक्रम मंगलबार सकिएको छ । सरकारको गल्ती कमजोरी र विकृति विसङ्गति विरुद्धका जागरण अभियान समापन कार्यक्रम बोल्दै वक्ताहरुले सरकार भ्रष्टाचारीहरुको अखडा बन्दै गएको आरोप लगाए । ‘समृद्धिको सपना देखाएर सरकाले जनताबाट कर असुलेर आफु मोटाउने मात्र काम गर्दै आएको छ,’ उनीहरुले भने,‘बलत्कारी र भ्रष्टाचारीहरु सरकारकै वरिपरि नाँच्दा पनि सरकार मुखदर्शक बनेर बसेको छ ।’ कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले सरकारले सपना मात्र बाँडेर बसेको बताईन् ।
‘सरकारले पानी जहाज र रेलको सपनाको देखाएर बसेको छ,’ उनले भनिन्,‘जनताले अहिले सिटामोल खान नपाएर ज्यान गुमाउनु परेको छ । अहिले डेंगुले देश नै आक्रान्त बन्दा सरकार लामखुट्टे मार्न समेत सकेको छैन ।’ दुई तिहाईको दम्भमा देखिएको सरकाले भोली फेरि जनताको माझमा जानुपर्छ भन्ने भुलेको उनको भनाई छ । ‘जनतालाई कस्ता सपना देखाएर यहाँ आयौं भन्ने अहिलेको सरकारले भुलेको छ,’ उनले भनिन् । काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले अहिलेको सरकार जनभावना लत्याएर अगाडी बढेको बताए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि नवराज गुरुङ, रेशम बानियाँ, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल, केन्द्रीय प्रतिनिधि छन्दबहादुर पहराई मगर, विष्णु पौडेल, संघीय सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद कोपिला बोहोरा, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा लगायतले सरकारले जनजिविकाका सवाल छोडेर माफियाहरु र दलालहरुको गुलामी गरेको आरोप लगाए । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमेश गौतम र सञ्चालन सचिव नवराज पौडेलले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here