
बागलुङ, २९ भदौ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले अहिले देखिएको खानेपानीमा अनियमितता भएको बारे जुन खबर बाहिर आएको छ त्यो सहि र वास्तविक नभएको बताएका छन् ।
धौलागिरि सञ्चार क्लब बागलुङले आयोजना गरेको समसामयिक साक्षात्कार कार्यक्रम नगरपालिकाका नगर प्रमुख पौडेलले खानेपानीमा जुन कुरा बाहिर आएका छन् त्यसबारे सत्य तथ्य बिल भरपाइ मगाएर हेरिरहेको बताए । जिल्लामा निश्चित दर रेट भएको हुँदा त्यो भन्दा तल माथि गर्न नसक्ने यसको काम खानेपानी डिभिजन कार्यालयले हेरिरहेको पौडेलले बताए । उनले उक्त खानेपानी निर्माणको रकम भुक्तानी नगरपालिकाले नगरेको जानकारी दिए ।
यस्तै नगरप्रमुख पौडेलले बागलुङ नगरपालिका र पर्वतको पाङ जोड्ने एशिया कै लामो झोलुङ्गेपुल निर्माण कार्य समेत तिब्रगतिमा बनिरहेको बताए ।
बागलुङ नगर क्षेत्र भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि पुर्वाधार तयार गरिरहेको बताउँदै नगरप्रमुख पौडेलले त्यसको जिम्मेवारी निजी क्षेत्रलाई दिएर राम्रो बनाउने काम गरिरहेको बताए ।
बागलुङको पञ्चकोट, भकुण्डे लगायतका ठाउँमा पर्यटन केन्द्र बनाउन नगरपालिका लागि परेको र अहिले नगरमा बिदेशी पर्यटकहरु समेत आउन थालेको नगरप्रमुख पौडेलले बताए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रम क्लबका सचिव प्रदीप पन्तको संचालनमा सम्पन्न भएको थियो ।










