राजेशचन्द्र राजभण्डारी
नेपालमा संविधान सभाबाट संविधान घोषणा भएको ठ्याक्कै ४ बर्ष पूरा भयो । नेपाली जनताको प्रतिनिधिहरूले धेरै बर्षको संघर्ष पछि बल्ल २०७२ असोज ३ गते संविधानसभा बाट नयाँ संबिधान घोषणा गराउन सफल भएको खुशीयाली मनाउन सरकारले बिदा दिदै आएको मात्रै छैन यसलाई धुमधामसंग मनाउने तयारी भइरहेको छ ।
संविधानसभाबाट हिजोको दिनमा संविधान घोषणा गरेपछि त्यसमा केही असहमति जनाउँदै मधेसी दल र संविधान मस्यौदा समितिका संयोजक समेत रहेका तत्कालीन माओवादी केन्द्रका नेता डाक्टर बाबुराम भट्टराईले बिद्रोह गरेर नयाँ शक्ति पार्टी गठन गर्न पुगेको कुरा सारा दुनियाँलाई थाहा छ । अहिले नेपाल संबिधान कार्वान्यन कै चरणमा छ । देशमा नयाँ संरचना अनुसार ३ तहको सरकार पनि गठन भइसकेको छ । नेपाली जनताले जेजस्तो अपेक्षा हिजोको दिनमा राखेका थिए त्यो कुरा भने ब्यबहारिक रूपमा लागू हुने कुरा छोडौ झन हिजो भन्दा आज महंगी, भ्रष्टाचार, नातावाद, कृपावाद बढेर गएको छ । देशमा रोजगारी छैन भन्दै दैनिक हजारौं युवा जनशक्ति बिदेशी भुमिमा रगत पसिना बगाउन गइरहेका छन् । यसलाई रोक्ने छेक्ने कुनै कार्यक्रम शक्तिशाली सरकारले बनाएको देखिदैन ।

लेखक राजेशचन्द्र राजभण्डारी

पञ्चायतकालमा त्यो बेलाका शासक वर्गले युवालाई गोर्खा भर्ती केन्द्रको नाममा बेच्ने काम गरेको भनेर अहिले सरकारमा भएको पार्टीका नेताहरूले बिरोध गरेको स्वर अझैसम्म सुकेको छैन । नेपालमा अहिले पुरानो राजतन्त्र पनि छैन, गणतन्त्रमय भएको छ देश । ७ वटा प्रदेशमा ७ जना मुख्यमन्त्री, दर्जनौं मन्त्री नेपाली जनताले पाइसकेका छन् । अहिलेसम्म पनि संविधानले पुर्णता नपाएको भनेर गुनासो मधेसी दलको कायमै छ । अहिले पनि फरक बिचार राख्ने पार्टी माथि पञ्चायतकालमा जस्तो प्रतिबन्ध कायमै छ । शान्ति प्रक्रिया अहिलेसम्म टुंगोमा पुगेको छैन । कहिले कतिबेला के हुुने हो भन्ने ठेगान पनि छैन । हिजोको दिनमा नेपालको संविधानमा असहमति जनाउँदै छिमेकी मुलुक भारतले गरेको नाकाबन्दी अहिलेसम्म नेपाली जनताले भुल्न सकेका छैनन् । संविधानसभाबाट नेपाली जनताको प्रतिनिधिले संविधान बनाउने एउटा पाटो हो तर त्यो संविधान भित्र लेखिने कुरामा स्वदेशीको आफ्नो खालको स्वार्थ थियोभने बिदेशीको नहुने कुरै भएन । युरोपियन युनियनले त संविधान कस्तो कसरी बनाउने भन्ने बारे हाम्रो देशको सांसदहरूलाई, नेताहरूलाई गरेको लगानी तालिम भत्ता सबैमा स्वार्थ भन्दा अर्को थोक केही पनि थिएन भनेर बुझ्दा फरक पर्दैन होला ।
अहिले बनेको संविधानलाई नेपालका अधिकांश ठाउँमा स्वागत गरियो तर केही राजनीतिक पार्टीले यसलाई अपुरो अधुरो भनेर बिरोध गरे । डाक्टर बाबुरामले शक्तिशाली पार्टी छोडेर बिदेशी प्रभुको भनाइ अनुसार नयाँ शक्ति पार्टी खोलेर ठूलो तामझाम नै गरे । भारतको दिल्लीमा आम आदमी पार्टी उदय भए झै नेपालमा पनि केही गर्न सकिन्छ भनेर लागे तर परिस्थिति ठिक उल्टो भयो । अहिले बाबुराम फेरि समाजवादी पार्टीमा परिवर्तन हुन बाध्य भएका छन् । हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईलाई भारतमुखी भनेर आरोप लगाउने गरेका थिए । अहिले बिकसित घटनाक्रमलाई हेर्दा भने त्यो कुराको नजिक नजिक पुगेको देखिन्छ ।
अहिले संविधान दिवस धुमधामका साथ मनाउने भनेर सरकारले घोषणा गरेको छ तर नेपाली जनताले भने यसप्रति नत खासै चासो देखाएका छन् नत नेपाली जनतालाई कुनै उत्साह नै छ । अहिले संविधान बनेको ४ बर्ष बित्दानबित्दै संविधान प्रति वितृष्णा किन जाग्यो त भनेर एकपटक यो देशका शासक, प्रशासक, जनप्रतिनिधि राजनीतिदलका नेताहरूले मनन गर्ने बेला आएको छ । अहिले मात्रै औपचारिक रूपमा संविधान दिवस मनाउनुको सार्थकता कति होला । अहिले मुलुकमा कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार भएको भनेर प्रचारप्रसार गरिएको छ तर अहिलेसम्म सरकारले गरेको काम गतिविधि हेर्ने हो भने नेपाली जनताले सन्तुष्टि लिने कुनै ठाउँ देखिदैन त्यहीँ भएर पनि होला नेपाली जनतालाई अहिलेको सरकार प्रति बिश्वास नभएको । यहीँ यस्तै कारणले जनतालाई संविधान दिवस मनाउनुको कुनै सार्थकता नलागेको । अहिले मात्रै जबर्जस्त रूपमा सरकारले जनप्रतिनिधिलाई दिवस मनाउन बाध्य नपार्ने भए दिवसको हबिगत यहीँ देखिने थियो । यो के कारणले हुन पुग्यो भन्ने कुराको चुरो पत्ता लगाउने तर्फ लागेको खण्डमा केही समाधान निकाल्न सकिन्छ भन्ने लाग्छ । अहिले पनि मधेसी दलहरूले संविधानमा के कुरा राख्न खोजेका हुन त्यो कुरा स्पष्ट हुनु जरुरी छ । यो देशलाई कमजोर बनाउने कुरा जो कसैले उठाउन खोज्छन् भने त्यस्तो माग स्विकारे हुँदैन भनेर भन्न सक्ने हैसियत अब राख्नुपर्छ ।
अहिले आर्थिक समृद्धिको कुरा गरेर मात्रै हँुदैन त्यसलाई ब्यबहारिक रूपमा लागू गर्ने बाटो बनाउन जरुरी छ । सबैभन्दा पहिला देश आर्थिक रूपले मजबुत नभएसम्म केही हुनेवाला छैन । हामीले संविधान दिवस मनाउँदै गर्दागर्दै हामी आर्थिक रूपमा मजबुत हुने यो यो कार्यक्रम हामीसंग छ भनेर जनतालाई बिश्वास दिलाउन सक्नुपर्छ । समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई साच्चै सार्थक बनाउने नीति तथा कार्यक्रम बनाउनुपर्छ तबमात्र हामीले प्रत्येक बर्ष संविधान दिवस मनाउनुको सार्थकता रहने छ ।

२०७६ भदौ २९ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here