काँग्रेसको जनजागरण अभियानमा युवा संवाद

बागलुङ, २९ भदौ ।
नेपाली काँग्रेसको जनजागरण अभियान अन्तर्गत शनिबार बागलुङमा युवा संवाद कार्यक्रम भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ (क) को आयोजना र नेपाल तरुणदल बागलुङ र नेपाल विद्यार्थी संघ बागलुङको आयोजनामा युवा संवाद कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने अधिकाँस वक्ताले आफ्नै पार्टी भित्रको वेथिती र विसङ्गतीलाई उजागर गरे । उनीहरुले चुनाव हारपछि पनि पाटीले सबक नसिकेको गुनासो गरे । ‘अहिले दुई तिहाईको सरकारको गतिविधि देखेर जनता आजित छन्,’ उनीहरुले भने,‘सरकारको वेथिति विरुद्ध नबोली काँग्रेसले के हेरेर बसेको छ ? जनता प्रश्न गरिरहेका छन्, काँग्रेस केवल हेरेर बसेको छ ।’
उनीहरु काँग्रेसले जनजिविकाको सवाल उठाउन नसकेको समेत बताए । ‘जनताले काँग्रेसको आस गरेका छन्, काँग्रेसले कसको मुख ताकेर बसेको छ । बुझ्न गाह्रो छ,’ उनीहरुले भने ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य बालकृष्ण शर्माले पार्टीले भातृसंगठनहरुलाई चलायमान नबनाएको गुनासो गर्नुभयो । उहाँले पार्टीलाई चलायमान बनाउनको लागि भातृसंगठनहरुको अधिवेसन साधारण सभा र सक्रिय हुनुपर्नेमा नहुनुनै पार्टीको प्रमुख समस्या रहेको बताउनुभयो ।
यस्तै धौलागिरि बहुमुखी कयाम्पसका स्ववियु सचिव विष्णुराज पौडेलले पार्टी भित्रैको अमेलका कारण जनतावको आवाज उठाउन काँग्रेसले नसकेको बताउनुभयो । नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी, काँग्रेस जिल्ला सदस्य लक्ष्मी शर्माले पार्टीको समिति समेत अहिलेसम्म पूरा हुन नसकेकोमा प्रश्न तेस्र्याए । ‘भातृ सुभेच्छुक संगठनहरु गतिशील हुन सकेका छैनन्,‘उनीहरुले भने,‘भातृसंस्थाहरु मात्र के कुरा भयो र पार्टीले जिल्ला समितिलाई नै पूर्णता दिन सकेको छैन । जिम्मेवारी बाँडफाँड गरेर जनताको मन जित्ने बेलामा किन निरह हुनुपरेको हो ?’
युवा संवाद भनेर आयोजना गरिएको कार्यक्रम पार्टीकै आन्तरिक कचिङ्गलमा अड्किन थालेपछि धौलागिरि बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिष थापा बम्किए । ‘हरेक कार्यक्रममा संधै त्यही कुरा उही ल्याङ ल्याङ पाराले पार्टी कसरी अगाडी बढ्छ,’ उहाँले प्रश्न गर्नुभयो । थापाले कार्यक्रम पार्टीको भूमिका रहेर पनि गुनासो मात्रै गर्नेहरुलाई पहिले आफुले के गरें भनेर देखाउन चुनौती दिनुभयो । ‘यहाँ बोल्नेहरु सबै पार्टीको केही न केही भूमिकामा हुनुहुन्छ, तपाईहरुले के गर्नुभयो पार्टीका लागि ? आफुले काम गर्नु नपर्ने अनि अरुले गरेन भनेर मात्र हुन्छ,’ उहाँले भन्नुभयो,‘मलाई तपाईहरुले धौलागिरि क्याम्पसमा स्ववियु सभापतिको जिम्मेवारी दिनुभयो । त्यहाँ मैले गरेका कामको विवरण बुझाउन म तयार छु । कहाँ बुझाउनुपर्ने हो ?’ एकोहोरो तत्लो तहबाट माथिल्लो तहलाई केही गरेन भनेर आरोप मात्र लगाउने चलनले पार्टीको पुनर्जागरण हुननसक्ने उहाँले जिकीर गर्नुभयो ।
कार्यक्रममा जनजागरण अभियानका केन्द्रीय प्रतिनिधि नवराज गुरुङले अहिलेको सरकारप्रति जनताको भरोसा गुम्दै गएकाले जनताप्रतिको जिम्मेवारी पूरा गर्न जनतालाई जागरुक बनाउन काँग्रेसले जागरण अभियान थालेको बताउनुभयो । ‘सरकारले चुनाव अघि आशा मात्र देखायो, पछि काम केही गर्न सकेन,’ उहाँले भन्नुभयो,‘निराश जनतालाई आशा जगाउनका लागि काँग्रेसले जागरण अभियान थालेको हो ।’
सरकारका गलत क्रियाकलापको काँग्रेसले भण्डाफोर गर्ने उहाँको भनाई छ । कार्यक्रमा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र थापा, पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेशका सचेतक मणिभद्र शर्मा कँडेल, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, क्षेत्र नम्बर १ क का सभापति शिव कँडेल, नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य लगायतले काँग्रेसलाई जनताको विश्वासिलो पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापा र सञ्चालन नेविसंघ सचिव श्रीकृष्ण पौडेलले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here