
अर्जुन कार्की
बागलुङ, १५ भदौ
गतवर्ष (२०७४) जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी प्रमुख एसपी दीपक रेग्मीले पहिलो पत्रकार सम्मेलनमा प्रतिबद्धता जाहेर गर्नूभयो– यस पालिको तीजमा (२०७५) मा रुपा गौतमको हत्यारा बागलुङबासीलाई उपहार ! त्यस पछि उपस्थित पत्रकारहरु एक अर्काको मुखामुख हेर्न थाले केहीले काने खुसी पनि गर्न थालेसँगै एसपी रेग्मीले गल्कोटमा भएको सुशिला हत्याकाण्डको छानविनको नेतृत्व गरेको र हत्यारा पत्ता लगाएको सुनाए पछि पत्रकाहरु आसावादी भए अब तीजमा रुपा गौतमको हत्यारा सार्वजनिक हुने भयो । सबैले आ–आफ्नो मिडियामा प्राथमिकताका साथ सो समाचार छापे, जिल्लावासी पनि तीज कहिले आउला भनेर कुरी रहे तर तीज आयो, गयो तर प्रहरीले सो घटनाबारे कुनै उपलब्धी सार्वजनिक गर्न सकने । सरुवा भए पनि एसपी रेग्मीले ‘आई एम सरी हत्यारा पत्ता लगाउन सकिएन भनेर जिल्लाबाट बाईबाई हुनुभयो ।
जबजब तीज पर्व नजिक नजिक आउँछ बिच सडकमा पशुतुत्य कटान भएकी रुपा गौतमको घटना जिल्लाबासीको दिल दिमागमा घुमी रहन्छ । अहिले गाउँदेखि शहरसम्म तीजको रौनक बढिरहेको बेला रुपा गौतमको आत्माले न्याय नपाएको पनि ५ वर्ष पुग्यो ।
२०७१ साल भदौ १२ गते तीजमा दर खान माइत गएर घर फर्किदै गरेकी साविक बिहुँ–१ दोविल्ला (हाल काठेखोला गाउँपालिका–६ विहुँ)की ३६ बर्षिया रुपा गौतमको विच सडकमा विभत्स तरिकाले हत्या भएको थियो ।
बागलुङ नगरपालीकाको बोक्सेको गैह्रा मध्यपहाडी लोकमार्ग अन्र्तगत सडकको बिचमा साँझको समयमा उनको घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको ५ वर्ष पुगिसक्दा समेत हत्या काण्ड रहस्यमै छ । घटना गर्भमै तुहिए जस्तो भएको छ ।
उनको मृत्यु पछि बागलुङमा सरुवा भएर आउने प्रहरी प्रमुखलाई जिल्लाबासीको पहिलो प्रश्न हुन्छ रुपा गौतमको हत्यारा कहिले पत्ता लाग्छ ? नवनियुक्त प्रहरी प्रमुखहरुको पनि रेडिमेट उत्तर हुन्छः घटनाको बारेमा अनुसन्धान अगाडी बढाउछु ।
रुपाको हत्या भएको ५ वर्ष वितिसक्दा पनि प्रहरी प्रशासनले अहिलेसम्म नत रुपा गौतम हत्यामा संलग्न भएको दोषी पत्ता लगाउन सकेको छ, नत बागलुङबासीलाई हत्यारा पत्ता लाग्न नसक्नुको चित्त बुझदो जबाफ दिन नै सकेको छ ।
प्रहरीको अनुशन्धान के भयो र कुन प्रहरी प्रमुखले के कति अनुशन्धान गरे भन्ने बारेमा जिल्लाबासी नै अनभिज्ञ छन् । जिल्लामा आउँदा पत्रकार सम्मेलन र महिला अधिकारकर्मी, मानवअधिकारकर्मीहरुलाई बोलाएर चिन्जान र जिल्लाको अवस्थाको बारेमा जानकारी लिने प्रहरी प्रमुखले सरुवा भई जाँदा भने सुइको नै नदिइ जान्छन् ।
रुपाको हत्याको बेलामा जिल्ला प्रहरी कार्यालयमा प्रमुख रहनुभएका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गर्नुभएको थियो ।
छानविन समितिले पनि ठोस् परिणाम दिन सकेन । उनीहरु दुवै जिल्लाबाट सरुवा भई गइसकेका छन् । सोहि समयमै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले समेत घटनाको छानविन गरेपनि केहि निष्कर्ष दिन सकेको छैन ।
प्रतिनिधिसभा सांसद मन कुमारी केसीले रुपा गौतमको हत्यारा पत्ता लगाउनको लागि संसदमा पनि कुरा उठाइएको बताउनुभयो । उहाँले रुपाको परिवारको न्यायको लागि गृहमन्त्रीलाई समेत ध्यानकर्षण गराइएको र सिआईबीमा पनि कुरा गरिएको बताउनुभयो । सांसद केसीले तत्कालिन अवस्थामा तिब्र गतिमा अनुसन्धान हुन नसक्नुनै राज्यको कमजोरी रहेको बताउनुभयो । केसीले अहिले जिल्लाका सांसदहरुले पटक पटक रुपाको न्यायको लागि कुरा उठाइरहेको बताउँदै माथिल्लो तहदेखि नै अनुशन्धानको लागि पहल गरिएको बताउनुभयो ।
अहिलेसम्म पनि रुपा गौतमको हत्यारा पत्ता नलाग्नु शान्ति सुरक्षा र न्याय सम्पादनमा प्रहरी प्रशासन र राज्य संयन्त्रको लाचारिपन रहेको मानवअधिकारकर्मीहरु बताउँछन् । एक जना महिलाको विच सडकमै हत्या भएको ५ वर्ष पुरा भईसक्दा समेत अपराधि पक्राउ गर्न नसक्नु दुर्भाग्य रहेको बताउँछन् । अभिवक्ता तथा महिला अधिकारकर्मी ममतादेवी शर्माले रुपाको हत्यारा प्रहरीले चाहेमा पत्ता लगाउन सक्ने दावी गर्नु हुन्छ । उहाँले हत्या भएको ठाउँमा हत्याराको प्रमाणहरु भेटिदा भेटिदै पनि सार्वजनिक गर्न नसक्नुले प्रहरी माथि प्रश्न चिन्ह खडा गरेको बताउनुभयो ।
उहाँले रुपाको हत्यामा ठूलो मान्छेको हात रहेको हुनसक्ने बताउँदै त्यसैको पावरमा अझै पत्ता नलागेको हुनसक्ने बताउनुभयो । उहाँले जिल्लाका मानव अधिकारकर्मी र महिला अधिकारकर्मीहरुले पटक–पटक रुपा गौतमको हत्यारा सार्वजनिक गर्न दबाब दिइरहेको समेत बताउनुभयो । यस्तै महिला अधिकारकर्मी शकुन्तला शर्माले अझैसम्म पनि हत्यारा सार्वजनिक गर्न नसक्नु राज्य संयन्त्रकै निरिहपन रहेको बताउनुभयो । उहाँले दिउँदै मुख्य सडकमै भएको हत्याको हत्यारा सार्वजनिक गर्न नसक्नु प्रहरी प्रशासन माथिकै धब्बा रहेको बताउनुभयो ।
उहाँले जिल्लामा पार्टीगत महिला अधिकारकर्मीहरु भएपनि रुपाको न्यायको लागि भने सवै एक ठाउँमा भएर आवाज उठाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जहिलेसम्म रुपा गौतमको हत्यारा सार्वजनिक हुँदैन, घरपरिवारले न्याय पाउँदैन तबसम्म हामी आन्दोलनमै हुन्छौँ ।’ दोविल्लामा खाजा पसल संचालन गर्ने रुपाको विच सड्कमा हत्या हुँदा २ तोलाको सिक्रि मात्र हराएको र कानका रिङहरु त्यही रहेकाले लुटपाटको कारणले हत्या भएको हो की भन्ने शंका नै नभई अन्य केहि कारणले हत्या गरेको हुनसक्ने परिवार बताउँछ ।
जिल्ला प्रहरी कार्यालयले घटनालाई महत्व नदिएको र आफुहरुले अझै न्याय नपाएको भन्दै परिवारले गृह मन्त्रालयमा समेत ज्ञापनपत्र बुझायो । गृहमन्त्री रामबहादुर थापालाई रुपा गौतमका देवर काशिराम गौतम सहित जिल्लाका सांसदहरुले ज्ञापनपत्र बुझाएका थिए ।
मन्त्रीले हत्यारा पत्ता लगाउँछौं भनेको १ वर्ष पनि पुरा भयो तर अझैसम्म हत्यारा सार्वजनिक नगर्दा परिवार न्याय हराएको महसुस गरेका छन् । जिल्लाबाट केन्द्रसम्म न्यायको ढोका ढकढकाउँदा पनि न्याय नपाउँदा यो देशमा न्याय नै नभएको सोच पैदा भएको काशिराम गौतम बताउनुहुन्छ ।
तर, हाल जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टले बाहिर चलेको हल्ला जस्तो अपराधि विदेश गएको भन्ने केहि थाहा नभएको र अनुसन्धान जारी रहेको बताउनुहुन्छ । उहाँले रुपा गौतमको हत्याको बारेमा जिल्लामा सबैले प्रश्न गर्ने गरेको बताउँदै आफुले गम्भिरतापूर्वक अनुसन्धान गर्ने बताउनुभयो ।
उहाँले हत्यामा सुनियोजित रुपले योजना भएको जस्तो देखिएको र जोसँग तारगेट भएको देखिएको छ त्योसँग सम्बन्धित केहि प्रमाणहरु नभेटिएको बताउनुभयो । घटनास्थल नजिकै एउटा झोला र खुकुरीको खाली दाब भेटिएको छ त्यो घटनामा प्रयोग भएको हुन सक्ने आधारमा पहिले अनुसन्धान गरिएको एसपि भट्टले बताउनुभयो । उहाँले कल डिटेलहरु सवै आएको र अपराधि नजिक पुग्ने प्रमाणहरु अझै नभेटिएकोले बताउनुभयो ।
एसपि भट्टले यस अगाडीका एसपि दिपक रेग्मीले के भन्नुभयो भन्ने बारेमा आफुलाई केहि थाहा नभएको र उहाँले आफुलाई केहि नभनेको बताउनुभयो ।
अहिले रुपा गौतमको केश हेरिरहेको बताउँदै एसपी भट्टले घरपरिवारसँग सल्लाह गरी शंका लागेका व्यक्तिहरु माथि अनुशन्धान गरिने बताउनुभयो । उहाँले अहिले जिल्ला प्रहरी कार्यालय बागलुङले अनुशन्धान गरिरहेको र आवश्यकता परेमा पुनः सिआईबी बोलाउन सक्ने बताउनुभएको छ ।
अब त आशाको दियो निभ्न लाग्योः परिवार
रुपा गौतमको परिवारसँगको कुराकानीमा उनीहरुले न्यायको लागि आशाको दियो नै निभदै गएको बताए । आमाको हत्या भएको ५ वर्ष पुरा भईसक्दा समेत जिल्ला प्रहरी कार्यालयमा हत्यारा सार्वजनिक गर्न नसक्नुको कारणबारेमा सोध्दा सधै अनुसन्धान भईरहेको भन्ने जवाफ पाइने गरेको रुपा गौतमका कान्छा छोरा सनोज उपाध्यायले बताउनुभयो ।
प्रहरीले पहिले १% र २% बाँकी छ भन्ने गरेपनि अहिले केहि थाहा नलागेको बताएको छोरा सनोजले बताउनुभयो । उहाँले प्रहरी कार्यालयबाट नै केहि उपलब्धी नभएको भन्ने गैरजिम्मेबारी जवाफ दिने गरेको बताउनुभयो ।
हत्या लगतै जिल्ला प्रहरी कार्यालयमा दबाब दिइरहेको परिवारले न्यायको लागि गतवर्ष दशै अगाडी नै गृह मन्त्रालयमा पुगि गृहमनन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र नै बुझाएको थियो ।
रुपाका देवर काशीराम गौतमले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएपछि जिल्लामा कार्यरत तत्कालिन प्रहरीहरुले नै मुजुल्का लगायतका सबुतहरुमा छेडछाड गरेको हुन सक्ने भन्दै उनीहरुबाट नै अनुशन्धान गर्नुपर्ने र हत्यारा सार्वजनिक गरिदिन अनुरोध गरेको थियो ।
जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुखहरुले हत्यारा सार्वजनिक गछौं भनेर आश्वासन दिएर वाक्का भएको परिवार गृहमन्त्रीले गतवर्षको दशैं भित्र नै हत्यारा सार्वजनिक गर्ने आश्वासन पुरा नगरेपछि आफुहरुले न्याय पाउने आशाको दियो निभ्दै गएको बताउँछ ।
तत्कालिन अनुशन्धानमा खटिएका प्रहरीहरुले नै प्रमाणहरु नष्ट गरेको र उनीहरुलाई अनुशन्धान गरेमा अपराधि पक्राउ गर्न सकिने देवर काशिराम गौतमले बताउनुभयो । उहाँले सोहि समयमा घटनास्थलमा भेटिएका कपडाहरुबाट एक जनालाई प्रहरीले पक्राउ गरेपनि २ दिनपछि छोडेको र त्यो व्यक्ति अहिले फरार रहेको आफुहरुलाई जानकारीमा आएको बताउनुभयो । उहाँले तत्कालिन समयमा प्रहरीले हत्यारा पक्राउ गर्नुभन्दा पनि जोगाउन तर्फ लागेको आरोप लगाउनुभयो । देवर गौतमले तत्कालिन समयमा हत्यारा पत्ता लगाउनको लागि प्रहरीलाई दबाब सिर्जना दर्ता केहि प्रहरीहरुले लड्न आइजा भन्ने गरेकोले नै हत्यारा पत्ता लगाउनुभन्दा जोगाउन लागेको प्रमाणित हुने बताउनुभयो । गौतमले जिल्लामा आउने प्रहरी प्रमुखले हत्यारा सार्वजनिक गर्नको लागि अनुशन्धान गर्छौ भन्ने गरेपनि अहिले विश्वास लाग्न छाडेको बताउनुभयो ।










