
म्याग्दी, १५ भदौ ।
म्याग्दीमा भएको प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा माउण्ट एभरेष्टले म्याग्दी बहुमुखी क्याम्पसलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । माउण्टलाई उपाधि दिलाउन रिया रोकाले ३ गोल गरेकी थिइन ।
शनिबार नै भएको खेलमा म्याग्दी बहुमुखी क्याम्पसले बागलुङको अमर आदर्श माविलाई १–० गोलअन्तर र माउण्ट एभरेष्टले म्याग्दी एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । अमर आदर्श माविको लागि खेलको अन्त्य तिर आत्माघाती गोलभएपछि फाइनल प्रवेश गर्ने सपना अपुरै रहेको थियो ।
प्रतियोगितामा म्यान अफ दी म्याच माउण्ट एभरेष्टकी रिया रोका घोषित भईन् । उत्कृष्ट खेलाडी माउण्टकै डिम्पल गुरूङ, सर्वाधिक गोलकर्ता माउण्टकै रिया रोका, उत्कृष्ट गोलरक्षक म्याग्दी बहुमुखी क्याम्पसकी रविना बोहोरा, अनुशासित टिम म्याग्दी एकेडेमी,राईजिङ खेलाडी वेष्ट पोइन्टकी दिपशिखा किसान र उत्कृष्ट गोल अमरआर्दशकी सुमिना केसी रहेको न्यू दोभान यूथ क्लवका आशिष भुजेलले बताउनुभयो ।
प्रतियोगिताको विजेता माउण्टले ३० हजार, उपविजेता म्याग्दी बहुमुखी क्याम्पसले २० हजार रुपैयाँ प्राप्त गरेका थिए । विजेतालाई बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
न्यू दोभान यूथ क्लवले क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा म्याग्दीका ११ र बागलुङ र पर्वतका २ गरी १३ विद्यालयले सहभागिता जनाएका छन् ।










