
बागलुङ, १२ भदौ ।
म्याग्दीको न्यू दोभान यूथ क्लबले आयोजना गरेको प्रथम अन्तर माविस्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा बागलुङको अमर आदर्श माविले विजयी सुरुवात गरेको छ ।
विहीबारदेखि बेनी बजारमा सुरु भएको प्रतियोगितामा अमर आदर्शले बेनीको बालमन्दिर आधारभूत विद्यालयलाई ७–० गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सवै गोल दोस्रो हाफमा भएका थिए । अमर आदर्शलाई उत्कृष्ट जित दिलाउन फरवार्ड ज्ञानु केसीले ह्याट्रिक पुरा गरिन । अमर आदर्शको लागि केसीले ३, सुमिना केसीले २, रश्मि रानाले १ गोल गरेकी थिइनभने एक गोल बालमन्दिरले आत्माघाती गरेको थियो ।
यस्तै प्रतियोगिताको उद्घाटन खेलमा लिटल गार्डेन एकेडेमीले प्रकाश माविलाई पराजित गरेको छ । निर्धा्रित समयमा गोल रहित भएको खेलमा पेनाल्टीमा लिटल गार्डेनले २ का बिरुद्ध ४ गोल प्रहार गरेको थियो ।
यस्तै बेनी सामुदायिक माविले न्यू होराईजन आवासिय माविलाई सुन्य का विरुद्ध १ गोल, म्याग्दी बहुमुखी क्याम्पसले बेनी आवासिय माविलाई पेनाल्टीमा ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । पहिलो दिनको अन्तिम खेलमा माउण्ट एभरेष्ट आवासीय माविले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको शुक्रबार हुने खेलमा लिटल गार्डेन एकेडेमी र म्याग्दी एकेडेमी, अमर आर्दश मावि बागलुङ र बुद्ध एकेडेमी, बेनी सामुदायिक र माउण्ट एभरेष्ट तथा म्याग्दी बहुमुखी र गलेश्वर आर्दश विच हुने बताइएको छ ।
क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालित प्रतियोगिताको फाइनल शनिबार हुने क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको छ ।









