मध्य पहाडी लोकमार्गको बागलुङ बजार-अक्षते खण्ड दैनिक आठ घण्टा बन्द हुने

बागलुङ, ११ भदौ ।
मध्य पहाडीलोक मार्ग अन्तर्गत बागलुङ बजारदेखि काठेखोला गाउँपालिका–२ अक्षते खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि अक्षते खण्डको सडक विस्तार तथा स्तरोन्नती गर्ने क्रममा काठेखोला गाउँपालिका–१ खहरे क्षेत्रको पहरो कटान गर्नको लागि सडक बन्द गर्ने सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको अध्यक्षतामा बुधबार सम्पन्न सरोकारवालाको बैठकले भदौ १८ गतेदेखि असोज १७ गतेसम्म बिहान साढे ७ बजेदेखी साढे ९ बजेसम्म र बिहान साढे १० बजेदेखी दिउँसो ४.३० बजेसम्मसवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम तर्फ चल्ने साना सवारी साधन खहरेदेखि पाला हुँदै अक्षेते सडकलाई वैकल्पिक सडकको रुपमा प्रयोग गर्ने व्यवस्था आयोजना र काठेखोला गाउँपालिका तथा काठेखोला गाउँपालिका–१ समन्वय गरी मिलाउने र बानपा मुलपानी पाला हुँदै अक्षेतेसम्म जाने सडकलाई समेत वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने बैठकले विकल्प प्रस्तुत गरेको छ ।
पहरो कटान गर्ने क्षेत्रको नजिकमा बागलुङ सदरमुकाममा वितरण भएको खानेपानीको पाईप रहेको हुँदा निर्माणको काम गर्दा पानी वितरण सूचारु गरी राख्नका लागि आयोजना कार्यालयले बागलुङ नगर खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्तको भनाई छ । निर्माण कम्पनीले तोकिएको समयावधिमा भित्र कार्य सम्पन्न गर्नूपर्ने निर्णय भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here