
बागलुङ, ८ भदौ ।
बागलुङ सदरमुकाममा मासुका लागि प्रयोग हुने राँगा तथा भैँसी बिना इजाजत बध गरिने गरेको पाइएको छ ।
पशु चौपाया बध गर्दा पशु प्राविधिकको अनुमति पत्र लिनुपर्ने नितिगत व्यवस्था भएपनि मासु व्यवसायीले नीतिगत पालना गरेका छैनन् ।
बागलुङ नगरपालिका अन्तर्गत अनुगमन समितिले शुक्रबार बजार क्षेत्रका २३ वटा पसलहरु अनुगमन गर्दा मापदण्ड विपरित मासु पसल सञ्चालन गरेको पाइएको हो ।
आम नागरिकले उपभोग गर्ने मासु फ्रिजमा नराखी बाहिर नै राखेको, पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको समितिका संयोजक युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । राँगा भैँसीसंगै कुखुरा, खसीबोका, बंगुर पसलहरुको पनि अनुगमन गरिएको हो ।
अनुगमन समितिका संयोजक सुवेदी, जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय राष्ट्रिय उपभोक्ता मन्च नेपाल पत्रकार महासंघ जिल्ला पशु सेवा कार्यालय पत्रकारको संयुक्त टोलीले बागलुङ बजार भित्र रहेको मासु पसलको अनुगमन गर्दा अझै पनि धेरै मासु पसले मापदण्ड बिपरित ब्यबसाय गरिरहेको भेटिएको छ ।
राँगा तथा भैँसीको मासु बिक्रि गर्ने व्यवसायीले मासु स्वस्थकर छ कि छैन भनी चेकजाँच गर्नुपर्ने भएपनि नगर्ने गरेको बताइएको छ । पशु बध गर्दा गर्भवती चेकजाँच मात्र गर्ने गरेको पशु सेवा कार्यालयका बालकृष्ण शर्माले बताउनुभयो ।
बागलुङ बजारमा अनुगमन टोलीले पटकपटक अनुगमन गरेपछि केही मात्रामा मात्रै सुधार भएको भए पनि उपभोक्ताले खाने मासु अझै स्वस्थकर नभएको सरोकारवालाहरुले गुनासो गरेका थिए ।
अनुगमन पछि समितिले दर्ता नभएका पसल दर्ता गर्नुपर्ने, मासुलाई बाहिर नभई फ्रिजमा राख्नुपर्ने एवं सम्पुर्ण मापदण्ड पुराएर मात्र मासु बिक्रि वितरण गर्न निर्देशन दिएको छ ।










