
बागलुङ, १ भदौ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देशमा कानुन भन्दा माथि कुनै पनि शक्ति नभएको बताउनुभएको छ । उहाँले ढोरपाटन दैनिक पत्रिकाको १६ औं बार्षिकोत्सव कार्यक्रममा कानुनभन्दा माथि कोहि नहुने भन्दै पत्रकारिता पनि कानुन भन्दा माथि नभएको बताउनुभयो । मन्त्री बास्कोटाले राज्यको परिवर्तन जे गरियो त्यो अनुसारको नीति हुनुपर्ने बताउँदै अब समृद्धि कुनै दलको नारा नरहेको जानकारी दिनुभयो ।
उहाँले नेपालको एक मात्र सिकार आरक्षको अस्तित्व नै मेटिने गरि हाइड्रोपावर बनाउने कुरा चलिरहेको र त्यो काम राम्रो नभएको बताउनुभयो । कुनै पनि ठाउँमा विकास गर्दा त्यहाँ भएको संरचना नभत्किने गरेर गराउनुपर्ने बताउँदै मन्त्री बास्कोटाले ढोरपाटनमा हाइड्रोपावर बनाउँदा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री बास्कोटाले कालिगण्डकी देशको भविश्य भएको हुँदा यसलाई मित्रताको भावना राखेर जानसक्ने हुनुपर्ने बताउनुभयो । यस्तै बास्कोटाले अहिलेको शिक्षा व्यवहारिक नभएका कारणले देश विकासमा पछाडि परेको बताउनुभयो । नेपालीहरु रोजगारको लागि विदेश जान्छौं तर भारतीय नागरिकहरु न्ेपालमा आएर यहिबाट अर्बौ रुपैयाँ लाने गरेको बताउँदै नेपालीहरुले कामलाई चिन्ने हो भने स्वदेशमै रोजगारी रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेल, सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट, नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगर, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर परियार लगायतले बोलेका थिए ।
बार्षिकोत्सवमा बागलुङबाट २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिकाका सम्पादक ओमकार प्रसाद गौचनलाई सम्मान गरिएको थियोे ।
पत्रिकाका सम्पादक हरिनारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कार्यकारी सम्पादक रामकृष्ण बोहोरा र संचालन पत्रकार बासुदेव त्रिपाठी र तारानाथ आचार्यले गर्नुभएको थियो ।










