आमाहरुसँगको सहकार्यमा लागुऔषध दुव्र्यसनको अन्त्य गर्दै प्रहरी

बागलुङ, २८ साउन ।
बागलुङमा पछिल्लो समयमा लागुपदार्थ दुव्र्यसनको समस्या बढ्दै गएसँगै जिल्ला प्रहरी कार्यालय बागलुङले दुव्र्यसनको अन्त्यको लागि आमाहरुलाई सक्रिय गराउन लागेको छ ।


जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबारदेखि प्रहरीको विशेष अभियान सुरु गरेको छ । प्रहरी र आमाहरुको सक्रियामा बढ्दो दुव्र्यसनलाई रोक्नको लागि शंका लागेका युवाहरुलाई किट मेसिनबाट लापसे चेकजाँच गरिने भएको छ । अभियान अन्तरगत पहिलो चरणमा लापसे सेवन गरेको भेटिएमा घरपरिवारलाई आफ्ना बालबच्चा सुधार्न मौका दिइने र त्यति गर्दा पनि नसुध्रेमा कानुनी कारवाही अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि नवराज भट्टले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार लागु औषध सेवनपछि के हुन्छ भन्ने भिडियो डकुमेन्ट्री प्रस्तुत गर्दै आमाहरुलाई जानकारी गराएको थियो । यस्तै कार्यक्रममा किटको प्रयोग र किटबाट कसरी पत्ता लगाउने भन्ने जानकारी पनि दिइएको थियो । यस अभियानका क्रममा आमाहरुलाई दुव्र्यसन, यसले पार्ने असर, आमाहरुको भुमिका, प्रहरी अभियान, परामर्श र कारवाही लगायतका बिषयमा सचेत गराउने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।


उक्त अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले घरपरिवारलाई सहि बाटोमा ल्याउन आमाहरुको ठूलो भुमिका हुने बताउँदै दुव्र्यसनीको अन्त्यको लागि पनि आमाहरुले सहयोगी भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँले भोलीको भयावह रोक्न आमाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रजिअ क्षेत्रीले लागु पदार्थ सेवन गरेको आरोपमा सेवनकर्तालाई प्रहरीले समाए आमाहरु नै झगडै गर्न आउने प्रवृत्ति बिद्यमान छ रहेको बताउँदै आँफ्ना र छरछिमेकका छोराछोरीको हर गतिविधिमा माया सँगै सजगता र निगरानी पनि आवश्यक छ भन्ने बोध गराएर दुव्र्यसन रोक्न अभियानले सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटा, आदर्श संचार सहकारी संस्थाका सम्पादक रामबहादुर जि.सी., सामुदायिक सेवा केन्द्रकी अध्यक्ष लिलादेवी खड्काले बोल्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार सिर्जना पन्तले गर्नुभएको थियो ।
बागलुङमा पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भएको र लागु औषधको कारोबार बढेको भन्दै धेरै गुनासो आएपछि प्रहरीले विशेष अभियान नै संचालन गरेर अगाडी बढेको छ । नवआगन्तुक प्रहरी प्रमुखको रुपमा जिल्लामा आएका एसपी भट्टले शुरुवातमै लागुपदार्थको बढ्दो प्रयोग र कारोवार रोक्न बिशेष अभियान र प्राथमिकताका साथ लाग्ने उद्घोष गरेका थिए । एसी भट्टकै अग्रसरतामा लापसे चेकको लागि ‘किट’ भित्रिएसँगै अब जिल्लाका अभिभावकले आफ्ना छोराछोरी जान अञ्जान लागुपदार्थ सेवनमा लागेको आशंका भएमा जाँच गरेर समयमै सजगता अपनाउन सक्ने प्रहरीले जनाएको छ । लापसे परिक्षणले सवारी दुर्घटना सँगै घरमा अभिभावकलाई ढाँटेर, छल गरेर दुव्र्यसनमा फस्ने र अनावश्यक दुख तनाव दिनेको संख्यामा पनि उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा आदर्श संचार सहकारीले जिल्ला प्रहरी कार्यालयलाई २० ओटा किट हस्तान्तरण गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here