
बागलुङ, ३ असार ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि बागलुङमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा मंगलबार दिउँसो लोकतान्त्रीक चोकबाट हस्ताक्षर अभियान सुरुवात गरिएको थियो ।

विधेयकमा भएका प्रेस स्वतन्त्रता विरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेको थियो । सरकारले आन्दोलनलाई उपेक्षा गरेपछि महासंघको तेस्रो चरणको आन्दोलन जारी रहेको छ ।
बागलुङमा तीन दिनसम्म हस्ताक्षर संकलन गरि ६ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम बहादुर थापा अविरलले जानकारी दिनुभयो ।

महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आह्वान गरेको छ ।













