
बागलुङको काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कंडेलसँग विगत लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अहिले वडाध्यक्षको रुपमा नागरिकसँग रहनुभएको छ । उहाँसँग सामाजिक कार्यलाई कसरी अगाडी बढाउने, विकास निर्माण र व्यवसायसँग सम्बन्धी धेरै अनुभव पनि छन् । आफु स्वयम व्यवसायी समेत भएको हुँदा उहाँले आफ्नो वडालाई कसरी समृद्ध बनाउन हुन्छ भन्ने विषयमा खबरवे अनलाईन टिमले गरेको संवाद :
- जनप्रतिनिधिको रुपमा दुई वर्ष विताउँदा कतिको सकसपूर्ण या उत्साह जनक ?
– २०७४ बैशाख ३१ गते निर्वाचन भएपनि जेठ १५ गतेदेखि मैले कार्यालय समालेको हो । स्थानिय तहमा १५ वर्षसम्म निर्वाचन नहुँदा जनताका आकांक्षाहरु धेरै जम्मा भएर बसिरहेका थिए । वडाअध्यक्षको जिम्मेबारी सम्हालेको १४ महिनापछि सचिव पाएपनि ६ महिना काम गरेपछि सरुवा भएर वडा कार्यालय १ महिना कर्मचारी विहिन हुन पुग्यो र पछिल्लो समयमा कर्मचारी समायोजनले केहि महिना कर्मचारी अभावका विच काम सम्पन्न गरेपछि अहिले केहि दिन अगाडीबाट कर्मचारीहरु आउनुभएको छ ।
सुरुदेखि नै कर्मचारीहरु नहुँदा काम गर्न धेरै गाह्रो भयो । धेरै विकासका काममा आशावादी रहेका जनताहरुलाई काम गर्नको लागि निर्वाचन भएको पहिलो वर्ष १ करोड ५ लाख रुपैयाँ विनियोजित गरेर काम गरेपछि वडाबासिहरु उत्साहित भएका छन् । वडामा विकासको काम गर्दा जनश्रमदानको लागि सवै उत्सुक रहेका छन् । अहिले वडामा विद्युतको पोल वडा कार्यालयले किनेर ल्याएर जनश्रमदानबाट गाड्ने काम भएको छ तर तार जोड्नको लागि विद्युत कार्यालयले चासो नदिदा गाह्रो भएको छ । - तपाईले आफ्नो दुई वर्षलाई फर्केर हेर्दा कति सन्तुष्टि हुनुहुन्छ ?
– कामको तौरमा पहिलो वडा कार्यालयमा बजेट कम आयो । अहिले नगरपालिका र गाउँपालिकामा पनि बजेट धेरै आएपनि गाउँपालिकामा प्राविधिकहरु कम हुँदा काम गर्न गाह्रो भएको छ । योजनाहरु सवै सम्झौता अनुसार गर्नुपर्ने तर प्राविधिकहरु कम हुँदा काम समयमै सम्पन्न गर्न गाह्रो भएको छ । वडामा म आफै निरन्तर रुपमा खटेर प्राविधिकहरु आफै ल्याएर काम गरिरहेको छु । जनताले चाहे अनुरुप काम गर्न सकिएको छैन । - वडाभित्र गरेका मुख्य मुख्य कामलाई उल्लेख गर्नुपर्दा सम्झनु पर्ने कामहरु के होला ?
– म वडामा निर्वाचिन भएर आउँदा घोडाबाधेमा नेपाली सेनाको अर्जुन बाण गण आएर बसेको थियो । त्यहाँ खानेपानीको अभावले गर्दा उनीहरुलाई गाह्रो भएको थियो त्यसैले आफैले प्रयोग गर्दै आएको पानी त्यहाँ प्रदान गरेर सहज बनाएको छु । मध्यपहाडी लोकमार्ग अन्तरगत काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाको सिमानामा पर्ने घोडाबाँधेमा होटलहरु संचालन आएका छन् त्यहाँ पनि खानेपानी अभाव भएको थियो । उक्त स्थानमा पनि अहिले खानेपानी सहज रुपमा उपलब्ध गराईएको छ । शिक्षामा केहि परिवर्तन ल्याउनको लागि आफ्नो वडमा रहेको अमर माविलाई नमुना विद्यालय बनाइएको छ । शिक्षा, स्वास्थ्य, सडक लगायतमा काम भईरहेपनि जनताको आकाँक्षाहरु धेरै हुँदा सोचे अनुरुप काम गर्न सकिएको छैन । - वडामा कर्मचारी छैनन कसरी कार्य सम्पादन गर्नुभएको छ ?
– नेपाल सरकारको स्थाई कर्मचारी सरुवा भईरहँदा पञ्जिधिकारीको काम गर्न गाह्रो हुने गरेको छ । वडा अध्यक्षले गर्ने नाबालक, नाता प्रमाणित लगायतका सिफारिसहरुमा केहि गाह्रो भएको छैन । वडा कार्यालयमा १७ वर्षपहिलेबाटै राखेका कर्मचारीहरुबाट काम गरिरह्यौं । पञ्जिधिकारीको कामहरु वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाले तोकेका अन्य वडाका सचिवबाट काम सम्पादन गर्ने गर्यौ । - आर्थिक वर्षको अन्तिम तिर कर्मचारी नहुँदा विकास निर्माण र योजना निर्माणमा कस्ता समस्या झेल्नु परेको छ ?
– कर्मचारी समायोजनले केहि समय कर्मचारीहरु नभएपनि अहिले प्रायाप्त मात्रमा कर्मचारी हुनुहुन्छ । कर्मचारी नहुँदा वडा सदस्यहरु र उपभोक्ता समितिहरुलाई हप्तामा २ दिन अनिवार्य योजनाको अनुगमन गर्न लगाएर काम गरेका थियौं । यस वर्षको २०–२२ योजनाहरु सम्पन्न भएका छन् र अन्य योजनाहरुको काम भईरहेको छ । विहुँ साविकको ५ वटा वडाहरु मिलेर बनेको वडा भएकाले भुगोलको हिसावले ठूलो क्षेत्रफलको वडा भएकाले सवै उपभोक्ता समिति खटाएर काम गरिरहेका छौं । - तपाईको वडा पर्यटन विकासको बढी सम्भावना भएको क्षेत्र पनि हो त्यसका लागि के कस्ता काम गर्नुभएको छ ?
– काठेखोला गाउँ कार्यपालिकाले काठेखोला–५ विहुँलाई पर्यटकीय वडा घोषणा गरेको छ । विहुँमा धेरै वर्षपहिलेदेखि त्रिपुरेश्वर मन्दिर रामकोट रहेको छ । उक्त मन्दिरमा हरेक वर्ष, हरेक महिना यज्ञहरु हुँदा धार्मिक पर्यटकहरु र साधुसन्त महाराजहरु आउनुहुन्छ । यहाँ शिवधुरी बन रहेको छ । उक्त स्थानबाट धेरै मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । यस्तै वडमा होमस्टे पनि संचालनमा ल्याइएको छ । अहिले पर्यटनको लागि साझेदारीमा रिसोट सेन्टर संचालन गर्न लागिएको छ । - मध्यपहाडी लोकमार्गले वडाको अधिकांश भाग जोडिएको हुँदा सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था छैन, सडकको लगानीलाई कुन क्षेत्रमा केन्द्रित गर्नुभएको छ ?
– गत साल सडकमा ४० प्रतिशत विनियोजित गरेर पुराना बाटोलाई स्तोरउन्नती गरिएको छ । वडामा मध्यपहाडी लोकमार्गको धेरै बाटो रहेकाले नयाँ ट्रयाक खोल्ने काम भएको छैन । जेठ ८ गते परेको अविरल वर्षाका कारण वडाभित्रको सडक सञ्जाल क्षेतविक्षत भएकाले छ साथै २ घरलाई विस्थापित गरेकाले उक्त सडक स्तोरउन्नती गर्न काम अगाडी बढाइएको छ । - तपाईको वडामा अधिकांस दलित समुदायको बसोबास छ, उनीहरुसँग सीप भए पनि व्यवसायिक बन्न सकेका छैनन् । परम्परागत सीपको विकास र व्यवसायिक बनाउन वडाले के योजना बनाएको छ ।
– म निर्वाचन भएपछि वडा भित्र रहेको दलित सञ्जालसँग सल्लाह लिएर उनीहरुले व्यवसायीक रुपमा संचालन गरेको आरान सुधारको काम र सिलाई बुनाईको कामलाई प्रत्येक वर्ष बजेट विनियोजित गरेर तालिमहरु संचालन गरेका छौं । वडामा रहेको पञ्चेबाजाको संरक्षणको लागि पनि काम भईरहेको छ । - तपाईको कार्य अवधिमा आधारभूत जनताले के पाउँछन ?
– मेरो कार्यकाल अहिले २ वर्ष वित्यो अब ३ वर्ष बाँकी छ । अबको ३ वर्षभित्र वडाभित्रका कृषकहरुलाई व्यवसायिक कृषि गर्न सक्छौं भन्ने बनाउनेछु । विद्यालयमा शिक्षक नहुँदा पठन पाठन गाह्रो हुने गरेकोमा अहिले कुनै पनि विद्यालयमा विषय शिक्षक २ दिन भन्दा बढि विदा बस्न नहुने गराईएको छ । निर्वाचनको बेलामा मैले बनाएको व्यक्तिगत घोषणा पत्रको ७५ प्रतिशत बाचा पुरा गर्ने देखेको छु । २५ प्रतिशत महत्वकाँक्षी योजनाहरु राखिएकोमा बजेटको अभावका कारण पुरा गर्न नसकिने देखिएको छ । घोषणा पत्रमा राखिएको घोडाबाधेदेखि शिवधुरीसम्मको केबुलकार संचालन गर्न नसकिने होकी भन्ने महशुस भएको छ । - मैले नसोधेका तर हजुरका मनमा भन्न लागेको केही छ की ?
– हाम्रो आफ्नै वडा कार्यालय छैन् । अहिले भाडामा कार्यालय संचालन गरेका छौं । राज्यबाट कार्यालय व्यवस्थापनको लागि जग्गा खरिद गर्न भनेर बजेट विनियोजित नहुँदा अझैसम्म व्यवस्थापन गर्न गाह्रो भएको थियो तर अहिले वडामा कार्यालयको लागि जग्गा सहयोग गर्ने सहयोगदाताहरु आउनुभएकाले एक वर्षभित्र वडाको जग्गा व्यवस्थापन गर्नेछौं ।
२०७४ असार ३ गते प्रकाशित ।










