
बागलुङ, १ असार ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले मिडियालाई परिचालन नगरेसम्म सुसासन कायम गर्न नसकिने बताउनुभएको छ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिकाको दोस्रो बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष थापाले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष थापाले सञ्चारले स्थानिय तहहरुले गरेका राम्रा कामको बारेमा नागरिकहरुलाई जानकारी गराउनुका साथै जनप्रतिनिधीहरुबाट भएका गल्तीहरुलाई सच्चाउनको लागि खबरदारी समेत गर्ने भएकाले स्थानिय तहको विकासको लागि संचारको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

अध्यक्ष थापाले गाउँपालिकाबाट आगामि वर्षको बजेटमा सञ्चारलाई सम्बोधन गरिने बताउनुभयो । उहाँले संचारको लागि अहिले पनि गाउँपालिकाले सम्बोधन गर्दै आएको छ र आगामी वर्षहरुमा त्यसलाई निरन्तरता दिदै जाने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थापाले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्दा चुहावट भइरहेकोले त्यसलाई रोक्नकोलागि मिडियाको सहयोगको आवश्यकता रहेको बताउनुभयो । ‘२ वर्षको कार्यकालमा काम गर्दैगर्दा विकास निर्माणको काममा चुहावट रहेको पाइएको छ,’ अध्यक्ष थापाले भन्नुभयो–‘गाउँपालिकाबाट चुहावट रोक्न धेरै प्रयास भएका छन् त्यसको अन्त्यको लागि मिडियाले सहयोग गर्नुपर्ने देखिन्छ ।’ अध्यक्ष थापाले मिडियालाई आफुले स्थानिय तहको प्रमुख अंगको रुपमा स्वीकार गरेको बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले मिडियालाई स्थानिय तहहरुले विकासको साझेदारको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता सत्तापक्ष र प्रतिपक्ष केहि नभइ निश्पक्ष हुने बताउँदै स्थानिय तहहरुले आफ्नो प्रतिपक्षको रुपमा हेर्ननहुने बताउनुभयो । अध्यक्ष शिरीषले संचार माध्यममा काम गर्ने पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक दिने बातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

बार्षिकोत्सव समारोहमा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तोयानाथ गौतम, गैरसरकारी कार्यालय महासंघ बागलुङ शाखाका सचिव मणिभद्र शर्मा, पत्रकाहरु राजेशचन्द्र राजभण्डारी, राम अविरल, उमाकान्त शर्मा, संगम घर्ति, तारानाथ आचार्य, कोपिला कंडेल, प्रदिप पन्त, सिर्जना पन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रिकाका सम्पादक नविन शिशिर विकले पत्रिकाको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा पत्रिकालाई लेख रचना सहित सल्लाह, सुझाव दिएको भन्दै टिका संगम विक र विज्ञापनदाता शुभलक्ष्मी सुनचाँदी गहना पसलकी धना सुनार र मल्ट्री इलेक्ट्रीकल्स एण्ड टुल्स सप्लायर्स बागलुङका सरोज श्रेष्ठलाई सम्मान गरिएको थियो ।

जननिगरानी साप्ताहिक पत्रिकाका प्रकाशन संयोजक खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत गुहेली संचार सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष प्रशाद थापा र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।










