
अर्जुन कार्की
बागलुङ, ३२ जेठ ।
क्विक्स कप अन्तरविद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधिको लागि रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघा र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा रत्नलक्ष्मी माविले अमर आदर्श बोर्डिङलाई १–० गोलअन्तर र दोस्रो सेमिफाइनलमा चिल्ड्रेन लाईफले रुद्रेपिपल माविलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा सोनाम घर्तीले खेलको २९ औं मिनेटमा गरेको गोलले रत्नलक्ष्मी मावि फाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफमा अमरका खेलाडीले डिबक्स भित्र हेन्ड गरेपछि प्राप्त गरेको पेनाल्टीमा सोनाम घर्तीले गोल गर्न चुकेका थिए ।
५० मिनेटको खेलअवधिभर दुवै टिमबाट गोलको केहि राम्रा प्रयास भएपनि गोल नहुँदा रत्नलक्ष्मी मावि फाइनलमा प्रवेश गर्यो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा जित हात पार्दै साविकको उपविजेता चिल्ड्रेन लाईफ बोर्डिङ यस वर्षपनि फाइनलमा प्रवेश गरेको छ । खेलको ४ औं मिनेटमा चिल्ड्रेन लाईफका पवन पुनले किर्नरकिकलाई गोलमा परिणत गर्दे टिमलाई जित दिलाएका थिए । खेलको ७ औं मिनेटमा रुद्रेपिपलका खेलाडीले प्रहार गरेको बल गोलबारमा लाग्दै चिल्ड्रेनका गोलकिपर विविध थापाले उत्कृष्ट बचाउ गरेका थिए । खेलअवधिभर दुवै टिमबाट गोलका उत्कृष्ट प्रहार भएपनि गोल हुन सकेन् ।
अखिल नेपाल फुटबल संघको बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा शनिबार छात्र तथा छात्रा फुटबलको फाइनल खेल हुनेछन् ।
छात्रा तर्फको उपाधिको लागि सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी विच प्रतिस्पर्धा हुनेछभने छात्र तर्फको उपाधिको लागि चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र रत्नलक्ष्मी बोर्डिङ स्कुल विच हुनेछ ।
प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्भने छात्रा तर्फको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा छात्र तर्फ २५ विद्यालय र छात्रा तर्फ ४ विद्यालयले सहभागिता जनाएका थिए ।










